बुटवल – लुम्बिनी प्रदेश स्तरीय श्रमाधान रोजगार मेला बुटवलमा सुरु भएको छ ।
बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त आयोजनामा लुम्बिनी प्रदेश स्तरीय रोजगार मेला सुरु भएको हो । बुधबार मेलाको उद्घाटन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले काम खोज्ने र रोजगारदाता बिचमा गहिरो खाडल रहेको बताउँदै त्यही खाडल पुर्नको लागि सातै प्रदेशमा मेलाको आयोजना गरिएको बताए ।
मेलाले रोजगार दाता र श्रमिक बिच पुलको काम गर्ने, सीप प्रबद्धन र सीप सिक्न प्रेणित गर्दै स्वरोजगार बन्न सघाउने उनले बताए । मन्त्री अर्यालले मेलाबाट प्रयाप्त रोजगारीको अवसर प्राप्त नभएपनि रोजगारी प्राप्तको लागि प्रयाप्त सुचना प्राप्त हुनेमा विश्वास दिलाए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले दुई दिनसम्म सञ्चालन हुने रोजगार मेलामा ४० वटा विभिन्न रोजगारदाताका स्टल रहेको र १० हजार अवलोकन गर्ने बताए । बुटवल उपमहानगरपालिकामा आफू बेरोजगार रहेको भन्दै १२ सयले निवेदन दिएको बताउँदै उनले मेलाबाट करिब ७ सय जनाले रोजगार प्राप्त गर्न सक्ने बताए ।
मेला दुई दिन सम्म चल्ने आयोजकले जनाएको छ । मेलामा ४० वटा स्टल रहेका छन ।



























































