काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर बुधबार बिहान स्वदेश फर्किएका छन् ।


ADVERTISEMENT


राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, मन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरूले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।


ADVERTISEMENT

# # #


राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका लागि जेठ २९ गते त्यसतर्फ प्रस्थान गरेका थिए । भ्रमण टोलीमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको सहभागिता थियो ।

स्वीट्जरल्याण्ड भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जेठ ३० गते त्यहाँका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गनुभएको थियो । उहाँले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना भएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गरेका थिए । सोही दिन राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गरेका थिए ।

स्वीट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाइनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण सुरु गरे । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गरे ।

राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्था, बर्लिनको पर्खाल र पूर्वी जर्मनीको अवलोकन भ्रमण गरे । गैह्र आवासीय नेपाली सङ्घ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गरेको थियो ।