काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टीम स्वदेश फर्किएको छ । टी–२० विश्वकपमा सहभागी भएका टोली हिजो राति र आज बिहान गरी दुईवटा समूहमा बाँडिएर फर्किएको हो ।
कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करन केसी र अविनाश बोहरालगायतको समूह हिजो राति १० बजे विमानस्थलमा ओर्लिएको थियो । कप्तान रोहित कुमार पौडेल लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् ।
स्पीनर सन्दीप लामिछाने भने दुई दिनपछि फर्किने बताइएको छ । टीमका अन्य सदस्य अमेरिका भएर नेपाल आएपनि सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी अर्को रुटबाट आउनु परेकाले उनी फर्किन दुई दिन ढिलो भएको क्यानको स्रोतले बताएको छ । स्रोतका अनुसार उनी क्यानडाबाट आउनेछन् । यस्तै प्रशिक्षक मोन्टी देशाईँ पनि आएका छैनन् ।
बिहीबार स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा क्यान पदाधिकारीहरुले स्वागत गरेका थिए । अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपालले अमेरिकामा दुई खेल र वेस्टइण्डिजमा समान दुई खेल खेलको थियो ।
अमेरिकामा भएको आफनो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै, श्रीलङ्कविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्ध भएसँगै दुवै टोलीले समान एकर एक अङ्क बाँडेका थिए ।
त्यसपछि वेस्टइण्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनको अन्तरले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको थियो ।



























































