बारा– बारामा गोली हानी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्या गरेको घटनाको मुख्य कारण जग्गा किनबेच विवाद साँधसिमाना र घरायसी कारणबाट भएको पछिल्लो अनुसन्धानबाट खुलेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय बाराले सात जना आरोपितहरूलाई पक्राउ गरेसँगै घटनाको रहस्य खुलेको हो । हत्याको घटनामा दर्जन बढी सामेल भएको अनुसन्धानबाट खुलेको छ ।


ADVERTISEMENT

# # #


२०८१ जेठ ३२ गते बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहाको हत्या भएको घटनामा सात जनालाई पक्राउ गरेको र अन्य अभियुक्तहरुलाई पनि चाँडै पक्राउ गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दधिराम न्यौपानेले बताएका छन् ।

ठुलो योजनामा हत्या भएको र हतियार सप्लाई लगायत अधिकांश अनुसन्धान अन्तिम चरणमा पुगेपनि थप केही हत्याका आरोपी फरार रहेकोले अझै केही समय लाग्ने उनले बताए ।

पक्राउ पर्नेमा बारा खजुरिया टोलका ३२ वर्षीय अवधलाल प्रसाद कुशवाहा, २९ वर्षीय चांदसी प्रसाद कुशवाहा, २७ वर्षीय चुल्हाई भन्ने श्रवण कुमार साह र ५० वर्षीय ब्रह्मदेव राम छन् । त्यस्तै बाराकै ५० वर्षीय मोतीलाल चौधरी, ३४ वर्षीय राधेश कुमार पटेल र ५४ वर्षीय विनोद राउत कुर्मी पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट तीनवटा मोटर साइकल, ६ राउन्ड गोली, मोबाइल, ल्यापटप र नेपाली तथा भारतीय सिम कार्ड समेत बरामद गरेको डिएसपी न्यौपानेले जानकारी दिए।

उनीहरूमाथि कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा चलाउन बारा जिल्ला अदालतबाट ६ दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कुशवाहामाथि आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार भएको थियो ।

घर जाँदै गरेका उनीमाथि मोटरसाइकलमा आएका दुई जनाले पछाडिबाट गोली प्रहार गरेका थिए । पिठ्युँमा गोली लागेका कुशवाहाको उपचारको क्रममा वीरगन्जस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

यसअघि नै प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूको पहिचान भने प्रहरीले खुलाएको छैन ।