काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा हिट वेभ चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।


ADVERTISEMENT


महाशाखाका अनुसार अत्यधिक गर्मीका कारण जनस्वास्थ्यमा असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ। विशेषगरी दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन, पर्याप्त पानी पिउन तथा गर्मीबाट जोगिने उपाय अपनाउन सुझाव दिइएको छ।


ADVERTISEMENT

# # #


जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेल ले देशका हिमाली तथा पहाडी भूभागमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जानकारी दिएका छन्। उनका अनुसार सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा तातो लहरको प्रभाव देखिन सक्नेछ भने बागमती र गण्डकी प्रदेशमा समेत तापक्रम बढ्ने सम्भावना रहेको छ।

यसैबीच, नेपालमा यस वर्षको मनसुन असार ५ गते कोशी प्रदेशबाट भित्रिए पनि हाल मनसुन कमजोर अवस्थामा रहेकाले देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ।

मौसमविद्हरूले मौसमको नियमित जानकारी लिन र सम्भावित जोखिमबाट बच्न सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।