काठमाडौँ – बार्बाडोसको मैदानमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले आईसीसी टी–२० क्रिकेट विश्वकप २०२४ को उपाधि जितेको छ ।


ADVERTISEMENT


शनिबार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी–२० क्रिकेट विश्वकपको उपाधि उचालेको हो । यता पहिलो पटक कुनै पनि किमिसको विश्वकपको फाइनल पुगेको दक्षिण अफ्रिका उपाधिबाट वञ्चित हुनुपरेको हो । भारतले विश्वकपमा अविजित यात्रालाई निरन्तरता दिँदै फाइनल खेल पनि जित्यो ।


ADVERTISEMENT

# # #


टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गसमाउँदै १ सय ७६ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, क्वीनटन डी ककले ३१ बलमा ३९ रन जोडे । उनले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए । डेभिड मिलरले १७ बलमा २१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

भारतका लागि हार्दिक पाण्ड्याले ३ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दै मात्र २० रन खर्चिए । अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट हात पारे । अक्षर पटेलले एक विकेट लिए ।

यसअघि भारतका लागि विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७६ रन बनाएका थिए । कोहलीले ४८ बलमा अर्धशतक पूरा गरेका थिए । अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का सहित सर्वाधिक ४७ रन बनाए ।

चौथो विकेटलाई कोहली र अक्षर पटेलले ५४ बलमा ७२ रनको साझेदारी गरेका थिए । ओपनर रोहित शर्मा ९, ऋषभ पन्त शून्य, सूर्यकुमार यादव ३, शिवम दुबे १६ बलमा ३ चौका र १ छक्कासहित २७ र रविन्द्र जडेजा २ रनमा आउट भए । हार्दिक पान्ड्या ५ रनमा नट आउट रहे ।

दक्षिण अफ्रिकाका केशव महाराजले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए । एनरिच नोर्कियाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडा र मार्को यानसनले १–१ विकेट लिएका थिए ।

अन्तिम ५ ओभरमा पल्टिएको खेल

यस खेलमा अन्तिम पाँच ओभर निकै महत्त्वपूर्ण थिए। दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम ३० बलमा ३० रन आवश्यक थियो ।

दक्षिण अफ्रिकी टोलीले १५ ओभरमा ४ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका ६ ब्याट्सम्यान क्रिजमा आउन बाँकी नै थिए र हेनरिक क्लासेन र डेभिड मिलरले उत्कृष्ट ब्याटिङ गरिरहेका थिए । क्लासेन २२ बलमा ४९ रन बनाएर मैदानमा थिए भने मिलर ७ बलमा १४ रन बनाएर मैदानमा थिए । यस अवस्थामा खेललाई आफ्नो नियन्त्रणमा राखेको दक्षिण अफ्रिकाको जित करिब निश्चितजस्तै थियो ।

तर, त्यसपछिका अन्तिम ५ ओभरमा भारतीय बलर र फिल्डरले जे गरे त्यो सधैं सम्झिनलायक छ ।

१६औँ ओभरमा जस्प्रित बुम्राहले ४ रन मात्रै दिए । यस्तै १७औँ ओभरमा बलिङमा आएका पहिलो बलमै क्लासेनको विकेट लिएर दक्षिण अफ्रिकालाई दबाबमा राखे । त्यसपछिका ५ बलमा उनले ४ रन मात्रै खर्चिए ।

अब दक्षिण अफ्रिकालाई १८ बलमा २२ रन चाहिएको थियो भने ५ विकेट हातमा थियो । १८औँ ओभरमा पुन: बुम्राह बलिङमा आए र आफ्नो जादुयी बलिङमार्फत भारतलाई जिततर्फ उन्मुख गरे । उनले उक्त ओभरमा २ रन मात्रै दिएर म्याक्रो जानसेनको विकेट लिए ।

१९औँ ओभरमा बलिङमा आएका अस्रदीप सिंहले ४ रन मात्रै खर्चिएपछि दक्षिण अफ्रिकालाई अब अन्तिम ६ बलमा १६ रन चाहिएको थियो । जुन कठिन थियो । तर, डेभिड मिलर क्रिजमा रहेकाले दक्षिण अफ्रिकाको जितका आशा कायमै थियो ।

सोही अनुसार अन्तिम ओभरमा बलिङमा आएका भारतीय टोलीका उपकप्तान हार्दिक पाण्ड्यालाई पहिलो बलमै मिलरले छक्का हान्ने प्रयास गरे । तर, बाउन्ड्रीमा सूर्य कुमार यादवले असम्भव देखिने क्याच लिएपछि मिलर पेवेलियन फर्किए । मिलरको विकेटसँगै दक्षिण अफ्रिकाको हारको औपचारिकतामात्रै बाँकी रह्यो ।

त्यसपछिका ५ बलमा हार्दिकले ८ रन दिएर १ विकेट लिएपछि दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रनमै समेटियो र भारतले खेल ७ रनको जितसहित दोस्रो पटक टी–२० विश्वकपको उपाधि उचाल्यो ।