काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासंघले आर्थिक वर्ष समाप्त हुन लाग्दा पनि अर्बौं रकम भुक्तानीका लागि पहल नभएको जनाएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले निर्माण व्यवसायीहरुको कुल ६० अर्ब रुपैयाँ भुक्तान हुन बाँकी रहेपनि त्यतर्फ राज्यले खासै ध्यान नदिएको जनाएको हो । सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन जारी भए पश्चात् म्याद थप भए पछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करीब ४० अर्ब रुपैयाँ र चालू आयोजनाहरुको करिव २० अर्व भुक्तानी हुन बाँकी रहेको महासंघका अध्यक्ष रवि सिंहले बताए ।
निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा निर्माणसँग सम्बन्धी कामका साथै अन्य सम्बन्धीत क्षेत्रमा प्रभाव देखिएको उनले बताए । त्यस्तै उनले राज्यले दिनुपर्ने कुनै पनि सहुलियत नदिई उल्टै व्यवसायीहरुलाई कालोसूची मा राखिएको भन्दै आपत्ति जनाए ।
निर्माण व्यवसायीहरूको रकम भुक्तान गरिदिने प्रतिबद्धता जनाएको अवस्थामा त्यस बमोजिम तत्काल रकम भुक्तानीको व्यवस्था नभएर व्यवसायीहरु हतोत्साहित हुन पुगेको महासंघको भनाइ छ । महासंघले आवश्यक बजेट रकमान्तर एवं थप गरी यही असार मसान्त भित्रै अनिवार्य रुपमा सबै निर्माण कार्यको भुक्तानीको व्यवस्था गर्न माग गरेको छ ।



























































