काठमाडौँ– सांसदहरुले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको क्षतिबारे सदनमा जानकारी गराउन सरकारसंग माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मीक समयमा बोल्दै उनीहरुले प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि काम गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा कांग्रेसका मुख्य सचेतक रमेश लेखकले अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षति र सरकारले गरेका कामबारे सदनलाई जानकारी गराउन माग गरे । सदनमा मन्त्री, प्रधानमन्त्रीको उपस्थिति नभएको भन्दै उनले जति दिन सरकार रहेपनि सदनप्रति उत्तरदायी हुनुपर्ने जिकिर गरे ।
त्यस्तै सांसद एनपि साउदले समक्ष पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि माग गरे । उनले महेन्द्र राजमार्ग अवरुद्ध भएको बताउँदै बाढी नियन्त्रण गर्न सरकार सजग रहनुपर्ने उल्लेख गरे । तटबन्ध निर्माणमा सरकारले ध्यान नदिएको टिप्पणी गर्दै उहाँले धेरै नदीहरुले बस्तीमै ठूलो असर गरेको बताए ।
सांसद महेन्द्रराय यादवले अविरल वर्षाले देशभर बाढीपहिरो, डुबानको ठूलो असर परेको बताउदँै तराई र सर्लाहीमा धेरै ठूलो क्षति भएको जानकारी गराए । उनले कांग्रेस र एमालेबीच समीकरण र संविधान संशोधनमा सहमति भएका उल्लेख गर्दै संविधान संशोधन गर्दा सर्वपक्षीय छलफल गरेर मात्र गर्न आग्रह गरे ।
सांसद पूर्णबहादुर घर्तीमगरले पहिरो जाँदा रुकुममा धेरै धनजनको क्षति भएको जानकारी गराउँदै बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र पुनस्थापनको माग गर्नुभयो । साथै घाइतेहरुको उपचारको माग गर्दै उनीँहरुको शीघ्रस्वास्थय लाभको कामना गरे ।



























































