काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गणपुरक सङ्ख्या नपुगेपछि कार्यसूचीबाट हटाइएको छ । बैठकमा सांसदहरुले धारणा राखे लगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जवाफ दिएकी थिइन् ।
आजको बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल चलेको थियो । छलफलमा सांसदहरुले उठाएको जिज्ञाशाको जवाफमा मन्त्री भट्टराईले संविधानको भावनाअनुरुप विधेयक अगाडि बढाइएको बताउदै समितिमा दफाबार छलफलका क्रममा विधेयकलाई परिस्कृत गर्न सकिने धारणा राखिन् ।
गणपुरक सङ्ख्या नपुग भएको भनी सांसद सन्तोष परियारले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले तीन मिनेट घण्टी बजाई गणपुरक सङ्ख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिए। गणपुरक सङ्ख्या गणना गर्दा कुनैपनि प्रस्ताव निर्णयार्थ पेस गर्न कूल ६९ हुनुपर्नेमा ६७ जना सांसद मात्रै उपस्थित रहेकाले सो प्रस्ताव कार्यसूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी दिए ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा उत्पत्ति भएको विधेयक हो ।
नेपालको संविधानको धारा ३५ मा रहेको स्वास्थ्यसम्बन्धी हकको संरक्षणको लागि आवश्यक पर्ने जनशक्ति स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवातर्फको पहुँच वृद्धि गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो ।
स्वास्थ्य विज्ञानका क्षेत्रमा गुणस्तरीय अध्ययन अध्यापनद्वारा मानवस्रोत विकास गरी सर्वसाधारण जनतालाई सहज, सुलभ र विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन तथा स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अनुसन्धान र नवप्रवर्तनको माध्यमले मुलुकको समृद्धिमा योगदान पुर्याउन चिकित्सा शिक्षातर्फ छुट्टै विश्वविद्यालय आवश्यक रहेको भन्दै यो विधेयक अघि बढाइएको हो ।
तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले यो विधेयक २०८० असोजमा राष्ट्रियसभामा दर्ता गरेका थिए ।
शोक प्रस्ताव पारित
प्रतिनिधिसभाको आजको बैठकले सीमलतालमा भएको दुई वटा बस दुर्घटना र सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्युभएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसहमतिले पारित गरेको हो ।
बैठकले ती दुवै दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । साथै बैठकले यस्ता प्रकृतिका दुर्घटना कम गर्नका लागि विशेष पहल गर्न र दुर्घटनापश्चातको प्रतिकार्यलाई चुस्त र दुरुस्त बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन १४ गते दिउँसो १ बजे बस्नेछ ।























































