काठमाडौँ – प्रभु बैंक लिमिटेडले झापा जिल्लास्थित बिर्तामोड शाखा कार्यालयमा आफूले मुद्दति निक्षेपमा राखेको रकम खातामा नरहेको दाबी गरिएको विषयमा ध्यानाकर्षण जनाएको छ ।
बैँकले सोमबार एक विज्ञप्ती जारी गर्दै उक्त शाखा कार्यालयमा निक्षेपकर्ता मन्जु कुमारी नेपालले निक्षेप जम्मा गरेको भनिएको मुद्दति निक्षेप रसिद नै नक्कली रहेको देखिएको जनाएको हो ।
उक्त शाखा कार्यालयका निक्षेपकर्ता मन्जु कुमारी नेपालले आफूले बैँकमा निक्षेप रकम राखेको र रसिद लिएको तर आफ्नो खातामा रकम नगएको भन्दै बैँकलाई अनुसन्धानधका लागि निवेदन दिएकी थिइन् । जसबारे प्रारम्भिक अनुसन्धान गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको व्यहोरा प्रारम्भिक रुपमा देखिन आएको बैँकको भनाई छ ।
यस सम्बन्धमा थप छानविन भइरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाईसकिएको प्रभु बैँक कोशी प्रदेशकाप्रमुख बद्री कुमार कटवालले जनाएका छन् । उनले भनेका छन्, ‘आवश्यक छानविन तथा प्रचलित कानुन बमोजिमको कारवाही पश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागी दोषी उपर ठहरे बमोजिमको कारवाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईएको छ ।’
देशैभर २८३ एटिएम र ३१४ शाखा कार्यालयहरु समेतको सञ्जाल मार्फत अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैंक लि. आप्mना निक्षेपकर्ता, ग्राहक तथा सेवाग्राहीहरुको हित एवं गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहको लागि कटिबद्ध रहेको छ ।



























































