बीबीसी – बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले हप्तौंदेखि जारी हिंसात्मक विद्यार्थी आन्दोलन देशव्यापी अशान्तिमा परिणत भएपछि राजीनामा दिएकी छन् ।


ADVERTISEMENT


रिपोर्टका अनुसार ७६ वर्षीया शेख हसिना सोमबार हेलिकप्टरबाट भारतका लागि बंगलादेश प्रस्थान गरेकी छन् । यसैबीच हजारौं प्रदर्शनकारीले ढाकामा रहेको उनको सरकारी निवासमा आक्रमण गरेका छन् । यससँगै बंगलादेशको सबैभन्दा लामो समय प्रधानमन्त्री रहँदै आएकी शेख हसिनाको शासनको पनि अन्त्य भएको छ । शेख हसिनाले बंगलादेशमा करिब २० वर्षसम्म बलियो पकडका साथ शासन गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


दक्षिण एसियाली देश बंगलादेशको आर्थिक प्रगतिको श्रेय शेख हसिनालाई दिइन्छ तर पछिल्ला वर्षहरूमा उनीमाथि तानाशाहीको आरोप पनि लगाइएको थियो ।

कसरी सत्तामा आइन् हसिना ?

सन् १९४७ मा पूर्वी बंगालको एक मुस्लिम परिवारमा जन्मिएकी शेख हसिनाले राजनीति विरासतमा पाएकी थिइन् ।

उनका पिता राष्ट्रवादी नेता शेख मुजिबुर रहमान थिए। बंगलादेश राष्ट्रका संस्थापक र पिता मानिने रहमान, जसले सन् १९७१ मा बंगलादेशलाई पाकिस्तानबाट स्वतन्त्र गराए र देशको पहिलो राष्ट्रपति पनि बने । त्यतिबेला शेख हसिना आफैंले ढाका विश्वविद्यालयमा विद्यार्थी नेताका रूपमा आफूलाई स्थापित गरिन् । सन् १९७५ मा सैनिक विद्रोहका क्रममा मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्य मारिए ।

शेख हसिना र उनकी कान्छी बहिनी मात्र बचेका थिए किनभने उनीहरू त्यतिबेला विदेश यात्रामा थिए। भारतमा निर्वासित जीवन बिताएपछि शेख हसिना सन् १९८१ मा बंगलादेश फर्किइन् र आफ्नो बुबाको राजनीतिक दल अवामी लिगको नेता भइन्।

उनले अन्य राजनीतिक दलहरूसँग मिलेर जनरल हुसेन मोहम्मद एरशादको सैन्य शासनविरुद्ध सडकमा प्रदर्शन गर्दै लोकतन्त्रको माग गरेकी थिइन् । देशमा भएको विद्रोहले शेख हसिनालाई चाँडै राष्ट्रिय प्रतिमा बनायो।

उनी पहिलो पटक सन् १९९६ मा निर्वाचित भएर सत्तामा आएकी थिइन् । भारतसँग पानी सन्धि गर्ने र देशको दक्षिणपूर्वी क्षेत्रमा विद्रोहीसँग सन्धि गर्ने श्रेय उनलाई दिइन्छ। तर, उनीमाथि धेरै सम्झौतामा भ्रष्टाचार र भारतको प्रभावमा रहेको आरोप पनि लागेको थियो ।

पछि, उनी २००१ को चुनावमा उनकी राजनीतिक सहयोगी–प्रतिद्वन्द्वी, बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की बेगम खालिदा जियासँग हारिन् । राजनीतिक परिवारका उत्तराधिकारी यी दुई महिलाले तीन दशकसम्म बंगलादेशको राजनीतिमा प्रभुत्व जमाए। उनलाई ‘ब्याटलिंग बेगम’ पनि भनिन्छ । बेगम उच्च परिवारका मुस्लिम महिलालाई भनिन्छ

बंगलादेशकी पूर्वप्रधानमन्त्री खलिदा जिया ।

यी दुई महिला नेताबीचको तिक्त राजनीतिक प्रतिस्पर्धाका कारण बंगलादेशमा बसमा बम विष्फोट, अपहरण र गैरन्यायिक हत्याका घटना सामान्य बन्दै गएको विश्लेषकहरू बताउँछन् ।

सन् २००९ मा हसिना फेरि सत्तामा आएकी थिइन् । उक्त निर्वाचन कार्यवाहक सरकारको निगरानीमा भएको थियो । उनी एक सच्चा ‘राजनीतिक सभाईवर’ हुन् । किनकी उनी धेरै पटक जेलमा परिन् जीवनमा धेरै आक्रमणबाट बच्न सफल भइन्।

सन् २००४ मा भएको आक्रमणका कारण उनको श्रवणशक्तिमा क्षति पुगेको थियो । उनलाई देश निकाला गर्ने प्रयास भयो र उनी भ्रष्टाचारको आरोपमा कैयौँ मुद्दामा फसेकी थिइन् ।

शेख हसिनाले के हासिल गरिन् ? 

शेख हसिनाले शासन गरेको बंगलादेश विपरित चित्र प्रस्तुत गरेको थियो । एक समय विश्वको सबैभन्दा गरिब देश मानिने मुस्लिम बहुल बंगलादेशले उनको नेतृत्वमा २००९ देखि विश्वसनीय आर्थिक प्रगति हासिल गरेको छ।

बंगलादेश अहिले यस क्षेत्रको सबभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्र मध्येको एक हो । आर्थिक प्रगतिको मामिलामा बंगलादेशले आफ्नो विशाल छिमेकी भारतलाई पनि पछि पारिसकेको छ। पछिल्लो दशकमा बंगलादेशको प्रतिव्यक्ति आय तीन गुणाले बढेको छ । विश्व बैंकको अनुमान अनुसार बंगलादेशमा विगत दुई दशकमा २ करोड ५० लाख मानिस गरिबीबाट बाहिर निस्किएका छन् ।

बंगलादेशको आर्थिक प्रगतिको श्रेय देशको कपडा उद्योगलाई जान्छ। किनकी बंगलादेशको कूल निर्यातको अधिकांश हिस्सा कपडा उद्योगले ओगटेको छ र हालैका दशकहरूमा द्रुत रूपमा बढेको छ। बंगलादेशको यो उद्योगले युरोप, अमेरिका र एसियाका बजारमा निर्यात गर्छ ।

आफ्नो देशको आफ्नै स्रोत, ऋण र विकास सहायता लिएर हसिनाको सरकारले धेरै ठूला पूर्वाधार विकास परियोजनाहरू बनायो । जसमध्ये गंगा नदीमा २.९ बिलियन डलरको बनेको पद्मा पुल पनि एक हो ।

कुन-कुन विवादमा परिन् हसिना ?

पछिल्लो आन्दोलन शेख हसिनाले सत्ता ग्रहण गरेपछि सामना गर्नुपरेको सबैभन्दा गम्भीर संकट हो। अत्यधिक विवादित चुनावी नतिजापछि यी प्रदर्शनहरू भएका हुन्। विवादित आम निर्वाचनमा उनको पार्टी लगातार चौथो पटक निर्वाचित भएको हो ।

राजीनामाको माग बढ्दै गएपछि शेख हसिना अडिग रहिन् । उनले आन्दोलनकारीलाई ‘आतंकवादी’ भन्दै आलोचना गरिन् । उनले यी ‘आतंकवादी’लाई कडाइका साथ सामना गर्न सहयोग पनि मागेकी थिइन् ।ढाका र देशका अन्य भागहरूमा सरकारी जागिरहरूमा आरक्षण खारेज गर्ने मागका साथ सुरु भएको विरोध प्रदर्शन व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भयो।

कोभिड महामारी पछि, बंगलादेश बढ्दो मुद्रास्फीति र बढ्दो खर्चसँग संघर्ष गरिरहेको छ। मुद्रास्फीति गगनचुम्बी छ, विदेशी मुद्रा सञ्चिति घटिरहेको छ र बंगलादेशको विदेशी ऋण सन् २०१६ देखि दोब्बर भएको छ ।

आलोचकहरूले यसका लागि हसिना सरकारको व्यवस्थापनलाई जिम्मेवार ठहराएका छन् र ठूलो मात्रामा भ्रष्टाचारका कारण बंगलादेशको आर्थिक प्रगतिको फाइदा हसिनाको अवामी लिग पार्टीसँग नजिक भएकाहरूलाई मात्र पुगेको आरोप लगाएका छन्।

लोकतन्त्र र मानवअधिकारको मूल्यमा देशको प्रगति भएको आलोचकहरू बताउँछन् । हसिनाको शासनकालमा उनका राजनीतिक विपक्षी, मिडिया र विपक्षीलाई दमन गरिएको उनीहरुको आरोप छ ।

बंगलादेश सरकार र शेख हसिनाले सधैं यस्ता आरोप अस्वीकार गर्दै आएका छन्। तर हालैका महिनाहरूमा, सरकार विरोधी प्रदर्शनमा संलग्न हजारौं राजनीतिक कार्यकर्ता र नागरिकहरू सहित बीएनपीका धेरै वरिष्ठ नेताहरूलाई गिरफ्तार गरिएको छ।

कुनै बेला देशमा बहुदलीय प्रजातन्त्रका लागि लडेकी नेतृमा यो एउटा उल्लेखनीय परिवर्तन थियो । बंगलादेशका मानवअधिकार समूहहरूले पनि सन् २००९ यता सयौं मानिस बेपत्ता र गैरन्यायिक हत्याका बारेमा चिन्ता व्यक्त गरेका छन्।

शेख हसिनाको सरकारले यस्ता आरोपलाई ठाडै अस्वीकार गर्दै आएको छ । तर, उनको सरकारले यस्ता आरोपको छानबिन गर्न चाहने विदेशी पत्रकारको भ्रमणमा रोक लगाइरह्यो ।