काठमाडौँ – नेकपा एमालेका नेता रघुजी पन्तले सरकारमा नजाने निर्णय केन्द्रीय कमिटीबाट गर्न माओवादी अध्यक्ष प्रचण्डलाई चुनौती दिएका छन् । मंगलबार प्रतिनिधिसभामा प्रचण्डले ८४ अघि सरकारमा नजाने उद्घोष गरेपछि पन्तले सरकारमा नजाने निर्णय केन्द्रीय कमिटीबाट गर्न चुनौती दिएका हुन् ।
ठूला दल मिलेर सरकार बनाएपछि अब अर्को सरकारको सम्भावना नभएको भन्दै पन्तले यही सम्भावनालाई देखेर प्रचण्डले सरकारमा नजाने भनेको तर्क समेत गरे । उनले यसअघि धोका पाएका एमाले र कांग्रेसले सरकारमा सहभागी हुन प्रचण्डलाई फकाउन नजाने जिकिर गरे ।
प्रचण्डसँग सत्ता माग्ने नैतिक आधार र जनाधार समेत नभएको उनले बताए । त्यस्तै पन्तले सरकारबाट बाहिर बस्दा प्रचण्ड र माओवादीमा छटपटी भएको बताए । संसदीय प्रणालीमा रहेका देशहरुमा सय दिन नपुगी प्रतिपक्षी दलले सरकारको आलोचना नगर्ने नजिर रहेपनि अहिले प्रचण्डले तोडेको उनले बताए ।
उनले प्रतिपक्षीको भूमिका संवैधानिक अधिकार रहेको भन्दै यसलाई अवमल्यन नगर्न समेत सचेत गराए । उनले प्रचण्डकै कारण मुलुकमा राजनीतिक अस्थिरता भएकाले विगतलाई फर्केर हेर्न सुझाव दिए ।



























































