काठमाडौँ– अशोकराज सिग्देल नयाँ प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा भदौ २४ देखि लागू हुने गरी निर्णय गरेका हुन् ।योसँगै सिग्देल नेपाली सेनाको ४५औं प्रधान सेनापति बनेका छन् ।
यसअघि साउन १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई सरकारको सिफारिसमा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए । उमेर विवादको छानबिनमा परेपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए । त्यसपछि सेनापतिको रोलक्रममा सिग्देल आएका थिए ।
साउन २४ गतेदेखि वर्तमान प्रधानसेनापति प्रभुराम शर्मा नियमित अवकाश लिनका लागि एक महिने बिदामा बसिसकेका छन् । अब भदौ २४ मा नेपाली सेनाको परम्पराअनुसार शर्माले सिग्देललाई जिम्मेवारी हस्तान्तरण गर्ने छन् । सिग्देल अब २०८४ भदौ २४ सम्म प्रधानसेनापति रहने छन् ।
करिब ३८ वर्षदेखि नेपाली सेनामा सेवारत सिग्देलले स्वदेश तथा विदेशबाट उच्च शिक्षा र सैनिक तालिम गरेका छन् । उनले आर्मी कमान्ड एन्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर, नेपालको आर्मी वार कलेजबाट हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स तथा भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरो छन् । सिग्देलले पदिक पृतना,बाहिनी र गणको कमाण्ड गर्नुका साथै प्रतिविद्रोह तथा जङ्गल वारफेयर स्कुलको कमान्डेन्टको रूपमा जिम्मेवारी समेत निर्वाह गरेका छन् ।
उनले युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको विभागीय प्रमुखका साथै प्रधान सेनापतिको सैनिक सहायककोरुपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् । सिग्देलले अन्तर्राष्ट्रिय सेमिनार, तालिम तथा बैठकहरुमा सहभागिताका बाहेक संयुक्त राष्ट्र संघीय शान्ति सैनिककारुपमा पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेको अनुभव छ । साथै, उनले सुप्रवल जनसेवाश्री तेस्रो लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक र मानपदवीहरुबाट विभूषित भएका छन् ।
सिग्देललाई नेतृत्वका लागि अब्बल, अनुभवि, नेतृत्वदायी, क्षमतावान, राष्ट्रभक्त र सिंगाे नेपाली सेनाकाे कमाण्ड सम्हाल्नका लागि याेग्य महारथिका रूपमा लिएसँगै उनकाे कार्यकालमा देशकाे सुरक्षा, जनताकाे विश्वास, संगठनकाे ऐतिहाँसिक गरिमा प्रतिष्ठामा थप उचाई पुग्ने विश्वास समेत लिईएकाे छ ।



























































