काठमाडौँ – नेकपा एमालेका सांसद गोकुल बास्काटाले डेडिकेटेड र ट्रकलाईन विवाद समाधानका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बास्कोटाले सार्वजनिक लेखा समितिमाथि अनुचित दवाव दिइएको भन्दै डेडिकेटेड र ट्रकलाईन विवाद समाधानका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गरेका हुन् । उनले तत्कालीन प्रचण्ड सरकारले नै व्यवसायीहरुले डेडिकेटेड र ट्रकलाईन विद्युत उपयोग गरेबापतको बक्यौता घटाउने काम गरेको दाबी गरे ।
‘लेखा समितिको निष्कर्ष के हो भने महालेखा परीक्षकले २२ अर्ब रुपैयाँ बेरुजु देखाएको छ । त्यो पैसा उठ्नुपर्छ । हामीले भनेको त्यही हो । त्यो पैसा किन उठेन भनेर हामीले भनेको हो ।’ उनले भने, ‘उठाउने जिम्मेवारी लिएकाले पनि उठाएको देखिँदैन । उठाएनन् भन्ने प्रतिपक्ष दलको नेताले पनि दुईवटा पत्र लेखेर उठाउनु पर्दैन भनेर भन्नुभो । त्यसो भए किन र कसका कारण २२ अर्ब रुपैयाँ उठेन भनेर छानबिन होस् ।’
डेडिकेटेड र ट्रकलाईनका विषयमा आफुले बदमासी गरेर अर्कोमाथि हिलो छ्याप्ने काम भएको उनले बताए । बास्कोटाले माओवादी सत्ताबाहिर निस्केपछि रन्थनेर नेपाललाई बंगलादेश बनाउने भन्दै आन्दोलन गर्ने चेतावनी दिएको जिकिर गरे । बास्कोटाले प्रचण्डले नयाँ समीकरणका लागि आफूकहाँ नआउन भनेको बताउँदै उनले भने, ‘कोही पनि आउनेवाला छैन, भ्रममा नबस्नु, एक्लै लडेर बस्नु ।’
साथै उनले प्रचण्ड र छेपारोबीच रंग फेर्ने प्रतियोगिता गराउनुपर्ने बताए । उनले भने, ‘बरु छेपारोले रंग फेर्न समय लगाउँछ होला, प्रचण्डले आफ्नो कुरा फेर्न लगाउनुहुन्न । प्रतिपर्धा हुन्छ कि, गराइदिउँँ एकपटक ।’
त्यस्तै बैठकको बिशेष समयमा माओवादी सांसद देवेन्द्र पौडेलले डेडिकेटेड र ट्रकलाईनको बक्यौता नतिर्न पूर्वप्रधानमन्त्री प्रचण्डले भनेको भए बहस गर्न तयार रहेको तर्क गरे । पौडेलले मुलुकको परिवर्तनका लागि माओवादीले गरेको जनयुद्धको अवमूल्यन नगर्न चेतावनी दिदै अनमिनको रेकर्ड हेर्न सुझाव दिए ।
अहिले उठेका प्रश्नहरुलाई बिगतका घाउ कोट्याउने गरि परिस्थीतिलाई असहज नबनाउन उनले आग्रह गरे । उनले जनताले चलाएको आन्दोलन जनयुद्ध नै भएको जिकिर गर्नुभयो । पौडेलले टुँडीखेलमा विरोध गरेका युवाहरुको कुनै गल्ती नभएको र अवाज उठाएकै भरमा पक्राउ परेकालाई रिहा गर्न माग गरे ।



























































