काठमाडौँ– शिक्षा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यसबर्ष हालसम्म ६ हजार ८ सय ३१ जनामा डेंगी संक्रमण भएको जानकारी दिएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पौडेलले डेंगीका कारण चार जनाले ज्यान गुमाएको समेत बताउनुभयो । सवै जिल्लामा फैलिएको डेंगी नियन्त्रणका लागि सवै तहसंग मिलेर काम गरिरहेको उनले बताए ।
मन्त्री पौडेलले देशभर ७८ जनामा हैजाको संक्रमण पुष्टि भएको जानकारी दिए । उनले बाँकेको नरैनापुर झाडापाखलाबाट चार जनाको मृत्यु भएको विषयमा झाडापाखलाको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाए । उनले इन्सेफलाइटीसका कारण तीन जनाको मृत्यु भएको भन्दै सवै सरुवा रोग नियन्त्रणका लागि मन्त्रालय गम्भीर रहेको जिकिर गरे । उहाले सरकारी अस्पतालको सेवा सुविधा विस्तार गर्ने, अस्पतालमा लाइन घटाउने काम भइरहेको सुनाए ।
छलफलपछि समितिले अस्पतालबाट सेवा लिने विरामीका लागि सवै प्रकारका औषधीहरु अस्पतालका फार्मेसीबाटै सहजै प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । अस्पतालका सवै प्रकारका सेवाहरुलाई प्रभावकारी बनाइ आम नागरिकको सहज रुपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्ने सम्बन्धमा विगतमा दिइएका निर्देशनहरुको कार्यान्वयन गरि सोको प्रगति विवरण १० दिनभित्र समिति समक्ष उपलव्ध गराउन निर्देशन दिइएको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिए ।
त्यस्तै बैठकले औषधीको गुणस्तर सुनिश्चितताका लागि उत्पादन बिक्रिवितरण लगाएका कार्यलाई नियमन गर्न र दर्ता नभएका पोषण परिपुरकहरुको जथाभावी बिक्री–वितरण भइरहेको गुनासो आएकाले प्रभावकारी अनुगमन गरि नियमन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।



























































