काठमाडौँ – दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् । पहाडीले आइतबार टेलिकमको प्रधान कार्यालयमा पदबहाली गरेकी हुन् ।
भदौ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । यस अघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० असोज १७ गते मन्त्रीस्तरको निर्णय बमोजिम पहाडीले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
पदभार ग्रहण गर्दै प्रबन्ध निर्देशक पहाडीले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गरिन् । साथै उनले पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिवद्धता व्यक्त गरिन् ।
नवनियुक्त प्रबन्ध निर्देशक पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छन् । उनले २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्दै २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी इिन् । उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् ।




























































