काठमाडौं– विहिवार १ बजे २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको सपथ ग्रहण हुँदैछ । यहाँ संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टीले संयुक्त रुपमा सरकार बनाउँदैछन् ।


ADVERTISEMENT


राउतलाई मुख्यमन्त्रीको पत्रसँगै मन्त्रीमण्डल विस्तारको पनि पत्र दिइएको छ । तर, राजपा र संघीय समाजवादी फोरम नेपालले कसलाई मन्त्री बनाउने भन्ने अझै टुंगो लगाएका छैनन् ।


ADVERTISEMENT

# # #


२ नम्बर प्रदेशमा सबभन्दा ठूलो दल फोरम नेपाल छ, जसले राजपा नेपालसँग मिलेर सरकार निर्माण गर्ने सहमति गरिसकेको छ । तर, तीन–तीनवटा मन्त्रालय पाएका यी दुई दलले अझै मन्त्रीको टुंगो चाहिँ लगाएका छैनन् ।

फोरम नेपालमा पनि मन्त्रीको टुंगो लागेको छैन । तर, पार्टीको नतृत्वमा सरकार बन्ने भएकाले मुख्यमन्त्रीसँगै एकजनाको मन्त्रीको सपथ गराउने तयारी भित्रैभित्रै भएको बताइएको छ ।

पार्टी स्रोतका अनुसार मुख्यमन्त्रीसँगै विजय यादवलाई मन्त्रीको रुपमा सपथ खुवाउने फोरमको तयारी छ । विजय यादव मुख्यमन्त्रीका दावेदार थिए । तर, प्रतिस्पर्धामा लालबाबु राउत मुख्यमन्त्री भएपछि पार्टीले विजय यादवलाई मन्त्रीमा पठाउने तयारी गरेको छ ।

तीनवटा मन्त्रालय पाएकोमध्ये विजय यादवसहित शैलेन्द्र साह, योगेन्द्र राय यादव, कौशलेन्द्र यादवm अभिषेक यादवलगायतको चर्चा रहेको छ ।

शैलेन्द्र साह सप्तरीका हुन्, योगेन्द्र राय यादव रौतहट र कौशलेन्द्र महतोका हुन् । उनीहरु सबैजना मुख्यमन्त्रीका दावेदार थिए । तर, विजय यादव भन्छन्, ‘मन्त्री को–को बन्ने हो पार्टीमा सल्लाह भएको छैन । मन्त्रीको बारेमा पार्टीको बैठक बसेर निर्णय गर्नेछ ।’

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भोली मुख्यमन्त्रीको सपथ ग्रहणमा भाग लिन जनकपुर जाँदैछन् । त्यहीँ जनकपुरमा मन्त्रीको विषयमा टुंगो लगाउने फोरमको तयारी छ ।

त्यसैगरि, राजपा नेपालमा पनि मन्त्रीको टुंगो लागेको छैन । यद्यपी फोरम नेपालभन्दा राजपा नेपालमा सबभन्दा बढी मन्त्रीका आकांक्षी छन् ।

राजपाको भागमा पनि तीनवटा मन्त्रालय परेको छ । तर त्यसका लागि प्रदेशसभा संसदीय दलका नेता जितेन्द्र सोनल, नवलकिशोर साह, मनिष सुमन, रामनरेश राय यादव, उपेन्द्र महतो, प्रमेश्वर साह, उपेन्द्र महतो, डा।डिम्पल झा, सुरिता साह, रानी शर्मा तिवारी, विक्की यादव, सुरेश मण्डललगायतका नेताहरु दौडमा छन् ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले मन्त्रीको विषयमा कुनै टुंगो नलागेको बताए ।

उनले भने, ‘प्रदेशका लागि मन्त्री कसलाई बनाउने नबनाउने विषयमा पार्टीमा विषय समेत प्रवेश भएको छैन । माघ २९ गते समानुपातिकको सूचीको विषयमा छलफल गर्दै समय गएको थियो । त्यसपछि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर जनकपुर जानुभयो । अन्य नेताहरु उपत्यका बाहिर भएका हुनाले हालसम्म कुनै छलफल भएको छैन ।’

प्रदेश संसदीय दलका नेता सोनलले मन्त्री को–को हुने यस विषयमा कुनै पनि छलफल नभएको बताए । उनले भने, ‘यसको निर्णय हाइकमाण्डले गर्ने हो । हालसम्म भएको छैन हेरौँ, राती या भोलीसम्म केही हुन्छ कि ।’