काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वलक्षित अनुगमनलाई प्रभावकारी बनाइने बताएका छन् ।
बिहीबार साल्ट ट्रेडिङ कर्पोरेसनको कालिमाटीस्थित गोदामको निरिक्षण गर्दै मन्त्री भण्डारीले नयाँ योजनाका साथ अन्तरमन्त्रालय समन्वय गरी चाडपर्वलक्षित अनुगमनलाई प्रभावकारी बनाइने बताए ।
उनले वर्षमा चार हजार पटक अनुगमन हुदा पनि पूर्णरुपमा सन्तोष गर्ने ठाँउ नरहेकाले अनुगमनलाई फरक ढंगले अघि बढाइने धारणा राखे । दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउने गरी अघि बढ्ने उनले बताए ।
मन्त्री भण्डारी ६२ औँ वार्षिकोत्सवको कार्यक्रममा सहभागी हुन कालिमाटीस्थित कर्पोरेसनको कार्यालय पुगेका हुन् । उनले चाडपर्वका लागि सूपथ मूल्य पसल स्थापनाको तयारी भइरहेको र कुनै पनि उपभोग्य वस्तुको अभाव हुन नदिने धारणा राखे ।



























































