काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका स्वास्थ्य निकाय तथा अस्पताललाई मन्त्रालयको जग्गा खोज्न निर्देशन दिएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालय मातहतका २४ स्वास्थ्य संस्थालाई जग्गाको विवरण तथा उपभोगको अवस्था खोजेर पठाउन निर्देशन दिएको जानकारी दिए । उनका अनुसार स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, भेरी अस्पताल, राष्ट्रिय स्वास्थ्य तामिल केन्द्र, कोशी अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, नारायणी अस्पताल, कान्ति अस्पताल, किटजन्य रोग अनुसन्धान, तालिम केन्द्रलगायत स्वास्थ्य संस्था रहेका छन् ।


ADVERTISEMENT

# # #


“ती स्वास्थ्य संस्थालाई जग्गाको अवस्था के छ ? अन्य निकाय वा व्यक्तिलाई उपभोग वा लिजमा उपलब्ध गराएको छ वा छैन ? र उपभोग वा लिजमा उपलब्ध गराएको भए के कुन मितिमा कति जग्गा कुन व्यक्ति वा निकायलाई के कुन शर्तमा उपलब्ध गराएको छ, सो सबै स्पष्ट खुलाइ पठाउन आग्रह गरिएको छ”, प्रवक्ता डा बुढाथोकीले भने।

प्रवक्ता डा बुढाथोकीका अनुसार सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाका जग्गाको संरक्षण तथा उचित व्यवस्थापनका लागि मन्त्रालयले प्रशासन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ । मन्त्रालय निकायका नाममा रहेका जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरुपयोग भएको थाहा भएमा त्यसको जानकारी मन्त्रालयमा आएर वा पत्राचारद्वारा जानकारी गराउन समेत मन्त्रालयले अनुरोध गरेको छ । रासस