पर्सा – सामाजिक सञ्जालमार्फत समाजमा अराजक गतिविधि फैल्याउने कार्यमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओम कुमार पटेललाई प्रहरीले पक्राउ गरेको छ ।
पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१५ प्रतिमाचोक नजिकबाट मंगलबार पक्राउ गरेको हो । पटेल फेसबुक, टिकटक, इन्स्ट्राग्राम, ट्विटर, वाह्टस्एप, म्यासेन्जरमा किंग अफ पर्सा भन्ने आईडीमार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियारको प्रदर्शन गरी डर त्रास सिर्जना गर्ने, अराजक गतिविधि गरी समाजमा द्वन्दको सिर्जना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलापमा सलंग्न रहेको प्रहरीको भनाई छ ।
उनीविरूद्ध सार्वजनिक शान्ति विरूद्धको कसूरमा थप अनुसन्धान गर्नुको साथै यस्ता गतिविधिमा सलंग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको प्रहरीको भनाई छ ।



























































