काठमाडौँ – राजधानीमा जारी एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिका, विभागीय टोली त्रिभुवन आर्मीसंग फराकिलो अन्तरले पराजित भएको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा आर्मीले चन्द्रपुरलाई १०-० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा चन्द्रा भण्डारीले खेलको पहिलो मिनेट, ४० औं मिनेट र ८४ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् , त्यस्तै अमिशा कार्कीले पनि खेलको २७, ४२ र ६८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् भने हिमा चौधरीले ३२, दीपा शाहीले ५२ , अन्जना राना मगरले ६७ र शर्मिला थापा मगरले ८५ औं मिनेटमा गोल गरिन् । जितसंगै आमीको १६ अंक रहेको छ भने चन्द्रपुरको ७ अंक रहेको छ ।
यसअघि शुक्रबार नै भएको पहिलो खेलमा विभागीय टोली एपिएफ क्लबले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकालेको छ । एपिएफको जितमा रश्मि कुमारी घिसिङले ५ गोल गरिन् । त्यस्तै अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । जितसंगै एपिएफ तालिकाको शीर्ष स्थानमा कायमै छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।



























































