काठमाडौं – नेकपा माओवादी केन्द्र एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने भएको छ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आज ओली नेतृत्वको सरकारमा सहभागी नहुने बताइन् ।


ADVERTISEMENT


उनले नेकपा एमालेसँग केही कुरा मिल्न बाँकी रहेकाले अहिले नै सरकारमा सहभागी नभए पनि समर्थन भने बाहिरबाटै गर्ने जानकारी गराइन् । “हामी एमालेसँग पार्टी एकताको विषयमा छलफलकै क्रममा छौं, आज हामी सरकारमा जाँदैनौं,” उनले भनिन् । माओवादी उच्च स्रोतका अनुसार एमालेसँग एकताका लागि धेरै कुरा अझै मिल्न बाँकी छ ।


ADVERTISEMENT

# # #


पार्टी एकता कसरी गर्ने, नेतृत्व के हुने, पार्टीको सिद्धान्त कस्तो हुने भन्नेबारेमा अझै पनि कुरा मिल्न नसकेको उनको भनाई थियो ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि आन्तरिक छलफलमा अहिले नै सरकारमा सहभागी नहुने बताएको माओवादीका एक नेताले जानकारी गराए ।

“नेकपा एमाले र माओवादी केन्द्रबीच अहिलेसम्म पार्टी एकताका विषयमा कुनै सहमति भएको छैन,” नेकपा माओवादी केन्द्रका अर्का नेता मणि थापाले भने, “हामीले अहिले सरकारमा जानेबारेमा कुनै निर्णय गरेका छैनौं । पार्टी एकताको टुंगो लागेपछि मात्रै हामी सरकारमा सहभागी हुन्छौं ।”

माओवादी नेताहरु अहिले पनि आन्तरिक छलफलमै रहेको उनले बताए । तत्काल समर्थन गरेर जाने अनि पार्टी एकताको टुंगो लागेपछि मात्रै सरकारमा जाने निर्णय गरिने उनले बताए ।

माओवादी केन्द्रका अर्का नेता दीनानाथ शर्माले पनि पद र आलोपालोको विषयमा कुरा नमिलेकाले अहिले नै सरकारमा जानेबारेमा निर्णय नभएको बताए ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पनि अहिले सरकारमा जाने विषयमा कुनै पनि निर्णय नभएको बताए ।