काठमाडौँ – संसदीय सुनुवाई समितिले सरकारद्वारा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूत भट्टराईले नै राजदूत नियुक्तिको प्रक्रियाबाट नाम फिर्ता लिने निवेदन दर्ता गराएको र निवेदन सनाखत समेत भएकाले उक्त पदमा नियुक्तिका लागि निजको नाम दुईतिहाईले अस्वीकृत गरेको समितिका सभापति इश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
स्नातक पास गरेको प्रमाणपत्र बुझाउन नसकेपछि यसअघि समितिले भट्टराईको नामबारे निर्णय गरेको थिएन । प्रमाणपत्र प्राप्त नभएपछि भट्टराईको नाम अस्वीकृत गर्ने समितिको तयारीसंगै बैठक अघि नै व्यस्तताको कारण देखाउदै भट्टराईले प्रस्तावित राजदूतबाट नाम फिर्ता लिने निवेदन दर्ता गराएका थिए ।
त्यस्तै सुनुवाई समितिको बैठकले संविधान अनुसार समावेशी र संसदीय सुनुवाई समितिको कार्यविधि बमोजिम समानुपातीक समाावेशी सिद्धान्तका आधारमा राजदूत सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको सभापति न्यौपानेले बताइन् ।
त्यस्तै बैठकले नेपाल सरकारले राजदूत नियुक्तिका लागि संसदीय सुनुवाईका लागि सिफारिस गर्दा समितिको कार्यविधि अनुसार सम्बन्धी व्यक्ति वा उम्मेदवारको योग्यताका सम्पूर्ण प्रमाणीत कागजात समेत उपलव्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।


























































