काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले अबिरत वर्षाका कारण उत्पन्न प्राकृतिक विपद्को व्यवस्थापन आफ्नो क्षमता अनुसार गरेको जिकिर गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सम्बोधन गरेर बुधबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सरकारले आफ्नो बुँता अनसुसारको काम गरेको बताएका हुन् ।
‘विरोधका लागि विरोध होला, सरकारले गर्नेसम्मको प्रयास तत्काल बैठक बसेर, सेना प्रहरी खटेर, उद्दार कार्य गरेर गरेको छ । बाढी पहिरो सूचना दिएर जाँदैन । पहिरो गएपछि क्षति पुग्ने नै भो । त्यसमा सरकारले उद्दार र राहत कार्य पुर्याउने हो । त्यो काम सरकारले पुर्याको छ भन्ने लाग्छ ।’ उनले भने, ‘सरकारले आफ्नो बुँता अनुसार गरेको छ ।’
उनले सरकारले उद्दार र राहतका कामहरु अझ प्रभावकारी रुपमा अघि बढाउने बताए । जल तथा मौसम विज्ञान विभागले एक साता अघि नै मौसम पूर्वानुमान गरे पनि सरकारले त्यसकमो पूर्व तयारी गर्न किन सकेन भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्रीले भने, ‘रेड अलर्ड जारी रिएको थियो, तर कहाँकहाँ पहिरो जान्छ त भनेको थिएन । काठमाडौँमा यस्तो डुबान गर्नेगरी आउला भन्ने कल्पना पनि थिएन । यस्ता कुराहरुलाई हामीले वस्तुपरक रुपमा लिनुपर्छ ।’



























































