काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैलाई आव्हान गरेका छन् ।


ADVERTISEMENT


सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेका पीडालाई साझा समस्य मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आग्रह गरे ।


ADVERTISEMENT

# # #


“यो पीडा सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ,” प्रधानमन्त्री ओलीले भने, “कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरू भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरूपमा सबल संरचना बनाइनेछ ।”

प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारीभन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुरालाई सच्च्याउने प्रतिबद्धता व्यक्त गरे ।

‘सरकारले केही गर्दै नगरेको होइन, सक्दो गरेको छ । कहीँ कमीकमजोरी भए होलान् । आगामी दिनमा गम्भीरताका साथ लिएर सच्याउनुपर्छ ।’ उनले भने, ‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन । यस प्रकारको विपत्ति आउला भन्ने अनुमान थिएन । प्राकृतिक प्रकोप यसअघि सानै किसिमका हुने गर्थे र तयारी त्यसै अनुसार हुन्थ्यो । तर यसपटक ठूलै विपत्ति आइलाग्यो ।’

उनले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्नेमा जोड दिए ।