काठमाडौँ – नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागका प्रतिनिधिसँग भियतनामको पूर्वगृहमन्त्रीलगायत उच्चस्तरीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । बिहीबार भएको भेटवार्तामा प्रतिनिधिमण्डलले उद्योग, व्यापार, परियोजना सञ्चालन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल गरेको हो ।
भियतनाम नेपाल फ्रेन्डसीप एसोसिएसनका अध्यक्ष एवं भियतनाम सरकारका पूर्वगृहराज्यमन्त्री त्रान आन तान नेतृत्वमा आएको आठ सदस्यीय टोलीले विभागका प्रमुख पूर्वमन्त्री मोतीलाल दुगड नेतृत्वको प्रतिनिधिहरूसँग छलफल गरेको हुन् । टोलीमा भियतनामका पूर्वगृहमन्त्री त्रान भान तानको सहभागिता रहेको छ।
भियतनाम र नेपालबीचको सम्बन्धलाई थप सुदृढ गराउने, लगानी, पर्यटन र व्यापर प्रवर्द्धन एवं जनस्तरको सम्बन्ध विस्तारका विषयमा दुई प्रतिनिधिमण्डलबीच छलफल भएको थियो। नेपाल पिस एण्ड सोलिडारिटी काउन्सिलको निमन्त्रणमा आएको टोलीले विभिन्न राजनीतिक दलका नेता, सरकारी प्रतिनिधि तथा यस विषयमा सरोकार राख्ने व्यक्तिहरूसँग छलफल गर्ने विभागका प्रमुख दुगडले जानकारी दिए ।
उनले ट्रेड एण्ड कमर्स, पर्यटन प्रवर्द्धन र सिधा हवाई सेवाका विषयमा कसरी अघि बढ्ने लगायतका समसामयिक तथा आर्थिक र व्यापारिक विषयमा छलफल भएको उनको भनाई छ ।
भियतनामी प्रतिनिधिमण्डललाई्र आश्वस्त पार्दै दुगडले भने, ‘तपाईहरू आउनुहोस्, नेपालमा लगानी गर्नुस्, हामीलाई मौका दिनुहोस् नेपाललाई विकास गर्नका लागि आफ्नो नाफा लिएर जानुस्।’ नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको बताउँदै उनले पोखरा, लुम्बिनीमा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तथा अझ धेरै पूर्वाधार निर्माणको चरणमा रहेको जानकारी गराए ।
नेपालमा अहिले स्थायी सरकार बनेको र लगानीको राम्रो बातावरण बनेको र लगानी जाखिमको अवस्था नरहेको बताउँदै दुगडले नेपालमा पर्यटनका साथै शिक्षा र मेडिकल क्षेत्रमा पनि लगानी गर्न सकिने सुझाव दिए ।
टोलीको नेतृत्व गर्दै आएका भियतनाम–नेपाल फ्रेन्डसिप एशोसिएशनका अध्यक्ष एवं भियतनाम सरकारका पूर्वगृहराज्यमन्त्री तानले आफू दोस्रो पटक नेपाल आएको जानकारी दिँदै लगानी गर्न भियतनामका व्यवसायी इच्छुक रहेको जानकारी दिए । उनले नेपालमा पर्यटन, जलविद्युत आयोजना, न्यू टेक्नोलोजी तथा सफ्वेयर, स्कुल, मानव श्रोतसानस व्यवस्थापनका विषय सम्भावनायुक्त रहेको जानकारी प्राप्त गरेको र त्यसका लागि आफू सकारात्मक रहेको प्रतिक्रिया दिए ।
छलफलमा नेकपा एमाले सामाजिक सेवा विभागकी संयोजक, संविधानसभा सदस्य कल्पना चापागाईँले टोलीलाई नेपाल लगानीका लागि उपयुक्त सम्भावना भएको देश रहेको जानकारी गराउँदै यसरी हुने भेटघाटले आपसी जनस्तरको सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने बताए ।