काठमाडौँ– भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगनले ६ दिने औपचारिक नेपाल भ्रमण गरेका छन् । उनी यही असोज १४ मा नेपाल आएका थिए ।
भ्रमणका क्रममा उनले पोखरा पुगेर त्यहाँ भूतपूर्व सैनिक र्यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरेका भारतीय दूतावासले जनाएको छ । त्यस्तै, उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण गरेका थिए ।
मेजर जनरल देवगनले भ्रमणका क्रममा नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गरेका थिए । सो अवसरमा उनीहरूबीच नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको थियो ।
उनले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरूको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीहरूको प्रशंसा गरेका थिए ।





























































