काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि रु ५० लाख हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


आइतबार सिंहदरबारमा काँग्रेसका सभापति शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे सुझावसहितरु ५० लाख हस्तान्तरण गरेको हो । सभापति देउवाले प्रधानमन्त्रीलाई ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


सो क्रममा कांग्रेसले सबै मिलेर संकटग्रस्त घोषणा गरिएका क्षेत्र र प्रभावित क्षेत्रमा विपद्पछिको उद्धार, राहत र पुनस्र्थापना कार्य द्रुत गतिमा व्यवस्थित ढंगले गर्नुपर्ने जनाएको छ । स्थानीय सरकारको संयोजनमा यथाशीघ्र प्रभावित परिवारलाई आवश्यकता अनुसार त्रिपाल, खाद्यान्न, औषधी र लत्ताकपडा तत्काल उपलब्ध गराउनुपर्ने कांग्रेसको सुझाव छ ।

अत्यावश्यक खाद्यान्न, पानी, औषधी, इन्धन लगायतका सामग्री अभाव हुन नदिन सरकारले सम्बन्धित निकायलाई प्रभावकारी परिचालन गर्न जरुरी रहेको कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काले जानकारी दिए । यसका लागि स्थानीय तहको नेतृत्वमा सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय रुपमा क्रियाशील राजनीतिक दलहरू र संघ–संस्था सम्मिलित सहजीकरण साझा संयन्त्र निर्माण गरेर कार्यसम्पादन व्यवस्थित गर्नुपर्ने उनले बताए ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको जनाए । उनले विपदले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ (लिड) गर्ने विश्वास दिलाए ।

कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न समेत सरकारलाई आग्रह गरेको छ ।