जुम्ला – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको भन्ने कुराको पुष्टि भएको बताएका छन् ।


ADVERTISEMENT


जुम्लामा सोमबार प्रेस सेन्टर आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओली नै भ्रष्टाचारीलाई जोगाउन लागेको जिकिर गरेका हुन् । उनले प्रधानमन्त्री ओलीले सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका र अदालनमा मुद्दा विचाराधीन रहेका व्यक्तिसँग सम्बन्ध बढाएको बताए ।


ADVERTISEMENT

# # #


सुपर मार्केट भाटभटेनीका मालिक मिनबहादुर गुरुङले एमालेलाई झण्डै १ अर्बको जग्गा दान दिएको विषयतर्फ संकेत गर्दै प्रचण्डले आफू नेतृत्वको सरकारले मुद्दा चलाएको व्यक्तिलाई प्रधानमन्त्रीले जागाउन लागेको बताए ।

‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दैछ, तपाईंहरूले सबै देखिरहनुभएको छ,’ उनले भने, ‘मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबर्जस्ती व्यक्तिको नाममा लाने जस्तो ठगी गरेको कारणले गिरफ्तार गरेको व्यवसायी, उनलाई अदालतमा मुद्दा चलाइएको छ । त्यस्ताबाट दानको नाममा जग्गा लिने काम प्रधानमन्त्रीले गरेपछि प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने हो भन्ने कुरा आफैंले पुष्टि गरेको स्थिति छ ।’

सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो । उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने पनि जानकारी दिए ।