काठमाडौँ – भ्रष्टाचारविरुद्ध काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनले भ्रष्टाचारको आरोपमा देशकै प्रतिवादी बनेका व्यक्तिसँग सत्तारुढ पार्टीले दान लिँदा भ्रण्टाचारलाई मलजल पुग्ने भन्दै सचेत गराएको छ ।


ADVERTISEMENT


ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले सोमबार एक विज्ञप्ती जारी गर्दै दलको कार्यालय निर्माणका लागि भ्रष्टाचारको आरोप लागेका व्यक्तिको दान लिएको प्रति गम्भीर चासो व्यक्त गरेको हो । भाटभटेनी सुपर मार्केटका मालिक मिनबहादुर गुरुङले हालै सत्तारुढ दल नेकपा एमालेलाई पार्टी कार्यालय निर्माण गर्न किर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान गरेका थिए भने भवनसमेत दानबाटै बनाइदिने घोषणा गरेका थिए ।


ADVERTISEMENT

# # #


‘प्रतिवादीसँगको यस्तो लेनदेनका कारण स्वार्थको द्वन्द्व हुनगई सुशासनमा गम्भीर असर पर्ने र भ्रष्टाचारको पक्षपोषण हुने ठम्याइ टीआई नेपालको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘ सरकारको नेतृत्व गर्ने व्यक्ति वा दलले सरकार वादी रहेको मुद्दाका प्रतिवादी व्यक्ति वा पक्षबाट सरकारको लागि होस् वा पार्टीको नाममा होस् कुनै पनि प्रकारको दान, दातव्य र सहयोग स्वीकार गर्ने प्रवृत्तिले सुशासनको अपव्याख्या भई देशमा व्याप्त भ्रष्टाचारलाई थप मलजल पुग्न जाने देखिन्छ ।’ सरकार सञ्चालनमा संलग्न रहेका व्यक्ति तथा राजनीतिक दललाई यस प्रकारका काम कारबाहीबाट अलग रहन टीआई नेपालले अपिल गरेको छ ।

‘दान प्रदान गर्ने व्यक्ति नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको र निजमाथि सोही प्रकृतिका थप विभिन्न मुद्दाहरू न्यायिक प्रक्रियामा नै रहेको सर्वविदितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनको पालना गरी गराई सरकारी सम्पत्ति र हितको संवर्धन गर्न जनताबाट निर्वाचित भई सरकारको नेतृत्व गरिरहेको पार्टीले यस प्रकारको दान दातव्य लिँदा वादी–प्रतिवादीमा हुनुपर्ने व्यवहारमा गम्भीर असर पर्न गई सरकार वादी रहेको मुद्दामा प्रतिकूल प्रभाव पर्न जाने देखिन्छ ।’

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आरोप लागेका र अदालतमा मुद्दा विचाराधीन रहेका व्यक्तिले प्रधानमन्त्रीको पार्टीलाई दान दिँदा स्वार्थी बाझिने भन्दै चौतर्फी विरोध भइरहेको छ ।