काठमाडौँ – पाकिस्तान क्रिकेटको नयाँ कप्तानमा मोहम्मद रिजवान नियुक्त भएका छन् । आइतबार रिजवानलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले टी––२० अन्तर्राष्ट्रिय र एकदिवसीय क्रिकेटको लागि टोलीको कप्तान बनाएको हो ।
३२ वर्षीय रिजवानले साबिक कप्तान बाबर आजमलाई प्रतिस्थापित गरेका हुन् । कप्तान बनेपछि उनले टोलीलाई एक साथ अघि बढाएर प्रशंसक र समर्थकको अपेक्षा पूरा गर्न प्रयास गर्ने बताए ।
‘म यस भूमिकामा आफ्नो पूर्ण उत्कृष्ट प्रदर्शन गर्न प्रतिबद्ध छु र चयनकर्ताहरू, प्रशिक्षकहरू र मेरो प्रतिभाशाली टोलीका साथीहरूसँग मिलेर काम गर्न तत्पर छु,’ रिजवानले पीसीबीसँग भनेका छन्, ‘सँगै, हामी हाम्रा प्रशंसक र समर्थकहरूको अपेक्षा पूरा गर्ने र पार गर्ने लक्ष्य राख्छौं।’ आगामी अष्ट्रेलिया र जिम्बाब्वे भ्रमणका लागि टोली घोषणा भएको केही घण्टापछि नै यो घोषणा गरिएको हो ।
यस्तै पीसीबीका अध्यक्ष मोहसिन नक्वीले पाकिस्तानको नयाँ सेतो बलको उपकप्तानमा सलमान अली आगालाई उपकप्तानमा नियुक्त गरेका छन्। जिम्बाब्वे भ्रमणमा रिजवान नहुने भएकाले त्यहाँ पाकिस्तानी टोलीको कप्तानी आगाले नै गर्ने उनले बताए ।
नयाँ कप्तान र उपकप्तानको नियुक्तिबारे पत्रकारहरूसँग कुरा गर्दै मोहसिन नक्वीले भने, ‘हामी उसलाई आवश्यक पर्ने सबै सहयोग दिनेछौं। हामीले हाम्रो युवा प्रतिभालाई समर्थन गर्न आवश्यक छ, र हामीले हाम्रो घरेलु क्रिकेट संरचनालाई पनि बलियो बनाउन आवश्यक छ।’
सोही पत्रकार सम्मेलनमा पीसीबी अध्यक्षले बाबर आजमलाई बोर्डले कप्तानी छोड्न दबाब नदिएको बताए । उनले आजमले खेलमा ध्यान केन्द्रित गर्न नेतृत्व छोड्न चाहेको बताएको उल्लेख गरे ।
आजमको नेतृत्वमा पछिल्लो सम पाकिस्तानले खराब प्रदर्शन गरेपछि आलोचना हुँदै आएको थियो ।