काठमाडौँ– नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोडभन्दा बढी रकम सहयोग गरेको छ ।
पछिल्लो समय बाढी पहिरोका कारण देशैभर भएको प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत स्वरूप टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट उक्त प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा १ करोड २ लाख ७० हजार २१४ रुपैयाँ ८३ पैसा सहयोग गरेको हो ।
मंगलबार एक समारोहबीच कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले उक्त रकम प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरिन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडी बढ्न निर्देशन समेत दिए ।
समारोहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल तथा नेपाल टेलिकमका प्रमुख अधिकृतहरुको उपस्थित रहेको थियो ।



























































