नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईसंग हिमालयपोष्टले गरेको कुराकानी


ADVERTISEMENT


एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । तर वाम गठबन्धनको अर्को सदस्य माओवादी केन्द्र सरकारमा सहभागी भएन । यसले पार्टी एकता हुँदैन कि भन्ने एक किसिमको शंका पैदा गरेको छ । अब पार्टी एकता कहिले हुन्छ ?


ADVERTISEMENT

# # #


पार्टी एकताको सन्दर्भमा कुनै द्विविधा छैन । बीचमा केही अन्योलजस्तो देखिएपनि हिजो र आजको कुरा गर्ने हो भने पार्टी एकताको कुरा लगभग भइसकेको छ । । राष्ट्रियसभाको निर्वाचन, अन्य सदस्यको चुनावमा लाग्नु पर्ने भएकाले एकताको कुरा केही ढिला भएपनि अब यसले पूर्णता पाउँछ । पार्टी नेतृत्वको बीचमा घनिभूत छलफल भइराखेको छ । कार्यकर्ताहरुको अपेक्षा, जनताको अपेक्षा बमोजिम नै पार्टी नेतृत्व लागिरहेको छ ।

प्रधानमन्त्री त एमालेबाट केपी ओली भएसक्नु भएको छ । माओवादीले कुनै एक कार्यकारी पद चाहियो भनिरहेको छ । अब पार्टी अध्यक्ष प्रचण्डलाई बनाउनुहुन्छ कि अरु कोहि हुन्छ ?

यो गम्भीर विषय हो । संरचनागत रुपमा मात्रै एकता नभइ मानसिक रुपमा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने दायित्व छ । पार्टी एकतापछि देश निर्माणको कुरा छ । नेपालको संविधान बमोजिम समाजवाद उन्मुख बनाउनका लागि हामीले काम गर्नु पर्नेहुन्छ । नेपालको अर्थतन्त्रलाई मजबुद बनाउँदै हामी अगाडि बढ्ने हो । त्यस कारण यो जिम्मेवारीलाई पूरा गर्नका लागि पार्टीको नेतृत्व, पार्टीका नीति, कार्यक्रम, हाम्रो सैद्धान्तिक पक्षहरुलाई अगाडि बढाउनुपर्छ । अहिले नेतृत्वको बीचमा जसरी छलफल चलिरहेको छ । नेतृत्वको कुरामा सरकारको नेतृत्व केपी ओलीले गर्ने र पार्टीको नेतृत्व दुबै नेताहरुले गर्ने भन्ने एउटा कुरा छ । पार्टी सञ्चालनका लागि दुबै पक्षको हित हुनेगरी दुई अध्यक्षमण्डल बनाएर जानुपर्ने कुरा मैँले भन्दै आएको छु । अहिलेको अवस्थामा यो नै उपयुक्त हो जस्तो लाग्छ ।

फेरि पार्टी सिद्धान्तको पनि कुरा मिलेको छैन नि ?

नीतिका सन्दर्भमा पनि त्यती ठूलो दुविधा छैन । जनताको बहुदलीय जनवाद अनुसार नै नेपालका कम्युनिस्ट हिंडिरहेका छन् । त्यस कारण हामी नीतिका सन्दर्भमा पनि बहस गर्नुपर्ने म देख्दिन ।

वाम गठबन्धनको सरकार निर्माण गर्दै गर्दा देशमा बेरोजगारी समस्या प्रयाप्त छ । विकास र समृद्धिको कुरा गरिरहँदा नेपाललाई रेमिटेन्सले धानिरहेको देशबाट माथि उकास्नका लागि तपाईको विकासको मोडालिटि के हुन्छ ?

यसमा कृषिलाई आधुनिकीकरण गर्ने हाम्रो पहिलो प्रयास रहनेछ । जसले धेरै रोजगारीका अवसर सिर्जना गर्नसक्छ । मानिसलाई कृषिबाट भगाउने होइन, कृषिमा आकर्षित गर्ने हो । व्यावसायिक ढंगले यसलाई अगाडि बढाउने हो । पशुपालनलाई व्यवसायिक बनाउने हो । हामीकहाँ पर्यटनको धेरै ठूलो सम्भावना छ । यसका सम्भावनालाई अगाडि ल्याउँदा हामीसंग भएको बेरोजगारीको समस्या क्रमशः घट्दै जान्छ । पर्यटनलाई जोडेर हामीले पूर्वाधारको विकास गर्न सक्छौँ । जस्तो होटेल सञ्चालन, सडक निर्माण लगायतका पूर्वाधारको विकास गर्नपर्ने हुन्छ । जसले अवसर सिर्जना गर्छ । अर्को कुरा हामीले औद्योगिकरणतर्फ देशलाई लैजाने कुरा आउँछ । अहिले हामीले सातवटा प्रदेशमा सात वटा नयाँ उद्योग स्थापना गर्ने भन्ने कुरा अगाडि सारेका छौँ । त्यसले पनि धेरै रोजगारी सिर्जना गर्छ ।

अर्को कुरा वैदेशिक रोजगारीमा जानेहरुलाई सीप सिकाएर पठाउन सक्यो भने उनीहरुले इज्जतका साथै पैसा पनि धेरै कमाउन सक्छन् । त्यसले रेमिटेन्स बढाउनुका साथै हाम्रो श्रम पनि सम्मानित हुन्छ । यी सबै चिजलाई हेरेर आजको अन्तराष्ट्रिय सन्दर्भ अनुसार जानुपर्छ । अबको राजनीति योजनाबद्ध रुपले अगाडि बढ्छ ।

देश नयाँ संघियतामा गएको तर देश चलाउने कतिपय कानुन पञ्चायती व्यवस्थाका छन् त्यसलाई समय अनुसार परिवर्तन गर्न सकिएको छैैन ।  यसले काममा वाधा उत्पन्न गर्ला नि ?

अवश्य पनि अहिलेको अवस्थामा कानुनमा परिवर्तन नगरिकन केही गर्न सकिन्न ।  हामी नयाँ ढंगले जान्छो भने नयाँ कानुन बनाउनुपर्ने हुन्छ । यसमा संविधानसंग बाझिएका कानुनहरु स्वत खारेज हुन्छन् । संविधानतः देशलाई हामीले जतातिर लैजाने भनिरहेका छौँ ।  त्यसका लागि त राष्ट्रय अर्थतन्त्रको विकास गर्नुपर्ने हुन्छ । उद्योगधन्दा खोल्नुपर्ने हुन्छ । कृर्षिलाई आधुनिकीकरण गर्नुपर्ने हुन्छ । यी सब काम गर्नका लागि कानुनले रोक्न सक्दैन । हाम्रो संविधानले मार्गनिर्देशन गरे अनुसारका  आवश्यक परेका नयाँ कानुन हामी बनाउँछौँ ।

अहिले वाम गठबन्धनको सरकार बनेको यसलाई चीनसंग केही बढी टाँसिएको भनिन्छ भारत यसमा तर्सिएको भनेर विभिन्न सञ्चार माध्याममा आइरहेको छ अब तपाईँहरुले विदेशी सम्बन्धलाई कसरी अगाडि बढाउनुहुन्छ ?

विदेशी सम्बन्धको कुरा गर्नुपर्दा हामी ढल्किन्छौँ भने बढी नेपालतिर ढल्किन्छौँ । नेपालको हिततिर बढी ढल्किन्छौँ । एउटा देशसंग बढि मजबुत सम्बन्ध स्थापित गर्ने अर्कोसंग अहिल कम गर्ने भन्ने कुरा छैन । हामीले हाम्रो देशको हित गर्न सकौँ भन्ने चाहान्छौँ । त्यसका लागि जसले बढी साथ दिन्छ । त्यसैसंग बढी नजिकिने हो । यसमा आशङ्का गर्नु जरुरी छैन । नेपालको विकासका लागि अन्तराष्ट्रिय सहयोग र प्रवृत्ति हामी भित्र्याउँछौँ । यसमा सहयोग गर्नका लागि दुबै छिमेकी देश तयार हुन्छन् भने अपेक्षा हो ।

विकासका लागि अन्तराष्ट्रिय लगानीकर्तालाई विश्वस्त पार्नुपर्ने हुन्छ तर नेपालको कुरा गर्दा राष्ट्रिय गौरवका आयोजनासमेत एउटा सरकारले एउटा निर्णय  गर्ने अर्को नयाँ सरकारले पहिलेको निर्णय खारेज गर्ने गरिरहेको छन् । यस्तो अवस्थामा  विदेशी लगानीकर्ताहरुले नेपालमा कसरी लगानी गर्न सक्छन् ?

अब हामी उनीहरुलाई चाहिने राजनीतिक स्थीरता दिन्छौँ । हामीले सुरक्षा दिन्छौ र हामीले उनीहरुको लगानीबाट नाफा हुने कुराको सुनिश्चितता गछौँ । त्यस आधारमा विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न आउँछन् । सम्भावना बोकेको नेपालमा त्यो व्यस्ता हुन्छ भने पक्कै लगानीकर्ता आउँछन् । वाम पन्थीको सरकार बनेदेखि धेरै लगानीकर्ताको आँखा अहिले नेपालतिर सोझिन थालेको जस्तो मलाई लाग्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

नेपाल अब नयाँ ढंगले अगाडि बढ्दैछ । हामीलाई यो ठाउँसम्म पुर्याउनका लागि जनताले जुन किसिमको भूमिका निर्वाह गर्नु भएको छ । यसका लागि धन्यवाद दिन चाहान्छु । अब पार्टी एकता पनि संघारमा पुगेको छ । यसले देशलाई एउटा नयाँ बाटोमा हिँडाउने कुरामा सहयोग गर्छ । निर्वाचन अघि हामीले घोषणा गरेको संयुक्त प्रतिवद्धतालाई अब कार्यान्वयन गर्नतिर हामी लाग्छौँ । नयाँ सरकारसंगै जनताका खुसीका, सुखका दिन सुरु भएका छन् । अबको एकमात्र एजेण्डा विकास र समृद्धि भएकाले व्यक्तिगत रुपमा पनि अबको पाँच वर्ष जनताको समृद्धिका लागि म लाग्छु भन्न चाहान्छु ।

 

नोट : अन्तर्वार्ता सोमबार लिइएको हो ।