काठमाडौँ– नेकपा माओवादी केन्द्रले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गर्ने निर्णय गरेको छ ।
सोमबार ललितपुरको खुमलटारस्थीत पार्टी अध्यक्ष प्रचण्ड निवासमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले उपनिर्वाचनका लागि प्रदेश र जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।
बैठकले निर्वाचनमा पार्टीलाई जित दिलाउनका लागि योजना र कार्यक्रम समेत बनाउदै अघि बढ्न पार्टी नेता कार्यकर्तालाई आग्रह समेत गरेको उनले बताए ।
त्यस्तै बैठकले पुस २ गते केन्द्रिय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय बैठकले मङ्सिर मसान्तसम्म पालिका सभा र खबरदारी सभामार्फत प्रभावकारी जनपरिचालनको कार्यक्रम गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दामा सरकारको उपस्थिती कमजोर भएको र राम्रा काम गर्नेलाई हटाउने प्रयास भइरहेकाले सरकारविरुद्धको खबरदारीलाई सशक्त रुपमा अघि बढाउने निर्णय भएको प्रवक्ता सापकोटाले बताए ।
उनले अग्रमन र जनताको अधिकार बढाउने विषयमा संविधान संशोधन हुनुपर्ने र राजनीतिक स्थायीत्वका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा माओवादीको जोड रहेको उल्लेख गरे ।