काठमाडौँ– सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज दोस्रो दिन पनि बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही उपस्थित गराइएको छ ।
लामिछानेसंग मंगलबार पोखराबाट ल्याएर साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उनको मौखिक बयान लिइएको थियो । उनीसंग लिखित बयान लिन सुरु गरिएको छ ।
बुटवलमा सुप्रिम सहकारी ठगी प्रकरणको थप अनुसन्धान तथा बयानका लागि लामिछानेलाई कास्कीबाट हिजो रुपन्देही ल्याइएको थियो । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रूपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
लामिछानेले आफू सुप्रिम सहकारीको सदस्य र ऋणी नभएको जिकिर गर्दै सुप्रिम मात्रै नभएर अन्य सहकारी ठगीमा पनि आफ्नो कुनै संलग्नता नरहेको बयान दिएका थिए । उनले बयानका क्रममा सरकारले दुःख दिने नियतले आफूलाई पक्राउ गरी हिरासतमा राखेको बताएका प्रहरी स्रोतले जानकारी दिएको छ ।
लामिछानेसँगको बयानमा सुप्रिम सहकारीको मुद्दा रहेको इलाका प्रहरी कार्यालय बुटवलका अधिकृतहरू बसेका छन् ।