काठमाडौँ– कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण देखेको दाबी गर्दे अन्तर्वार्ता दिएका गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको एसपी होविन्द्र बोगटीले बताए । गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बोगटीका अनुसार सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र र प्राइम टाइम टेलिभिजनका ‘जनता जान्न चाहन्छन्’ का कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको छ ।
अर्याले बोलेका सबै विवरण झुठो भएको एसपी बोगटी बताउँछन् । ‘उनले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठा हो’, उनले भने, ‘त्यो विषयमा सोधपुछका लागि ल्याएका हौं ।’
आफूलाई खानेपानी विभागको सवारी चालकका रुपमा चिनाएका अर्यालले अन्तरवार्तामा तत्कालीन खानेपानी मन्त्री बिना मगरको गाडी हाँक्दा सो घटना प्रत्यक्ष देखेको दाबी गरेका छन् ।
यसैगरि, तीनजनाले सामूहिक बलात्कार गरेको र आफूले उनीहरूलाई चिन्ने समेत दाबी गरेको उनको अन्तरवार्ता अहिले भाइरल भइरहेको छ ।



























































