काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल)को मुख्य प्रायोजन सिद्धार्थ बैँकले गर्ने भएको छ । क्यानले शुक्रबार एक कार्यक्रमको आयोजना गरी उक्त जानकारी दिएको हो ।


ADVERTISEMENT


आगामी पाँच वर्षसम्मका लागि सिद्धार्थ बैँकले एनपीएललाई मुख्य प्रायोजन गर्ने क्यानका सचिव पारस खड्काले बताए । उनले प्रायोजन बापतको रकम खुलाउन भने चाहेनन् । यद्दपि नेपाल खेल इतिहासमै सबैभन्दा उच्च रकम सिद्धार्थ बैँकले एनपीएललाई प्रायोजन गरेको उनले दाबी गरे ।


ADVERTISEMENT

# # #


यस्तै एनपीएल प्रसिद्ध भारतीय टिभी च्यानल स्टार स्पोर्टसले गर्ने भएको छ । खेलको प्रत्यक्ष प्रशारण गर्ने च्यानलले आयोजकलाई पैसा दिनुपर्ने विश्वव्यापी प्रचलन छ । तर, क्यानले एनपीएलको प्रत्यक्ष प्रशारण गराउन उल्टै स्टार स्पोर्ट्सलाई पैसा तिरेको बुझिएको छ ।

एनपीएललाई विश्वस्तरीय बनाउन र ब्राण्ड स्थापित गर्न पैसा तिरेर भए पनि स्टार स्पोर्टसबाट खेलको प्रत्यक्ष प्रसारण गराउन लागिएको सचिव खड्काले बताए । उनले नेपालको घरेलु लिगलाई अन्तराष्ट्रिय प्लेटफर्ममा लैजाने मौका मिलेको बताए ।

पहिलो एनपिएल खेल्न विदेशी फ्रेन्चाइजहरुले खेल्न इच्छा देखाए पनि सम्भव नभएको भन्दै उनले अर्को संस्करणमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेलको रुपमा विकसित हुन सक्ने बताए ।

लिग खेल्न आउने विदेशी खेलाडीहरुको श्रम स्वीकृत लगाएका काममा क्यानले सहजीकरण गर्ने खड्काले जानकारी दिए । त्यस्तै उनले उपनिर्वाचनका कारण मंसिर १६ गते खेल आयोजना गर्न सम्भव नभएकाले छिटै नयाँ खेल तालिका सार्वजनिक गर्ने बताए ।

नेपालका विभिन्न प्रदेश र सहरको नामका ८ वटा फ्रेन्चाइज्ड टोलीले एनपीएलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।