काठमाडौँ – सहकारी गठीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध काठमाडौँमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले आइतबार रविसहित पूर्वडिआइजी छविलाल जोशीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएपछि छानबिनका लागि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।
रवि र छवि हाल सुर्यदर्शन सहकारीको बचत रकम अपचलनमा गरेको आरोपमामा पोखराको हिरासतमा रहेका छन् । उनीहरुमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । रविलाई प्रहरीले गत कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा पुर्याएको थियो ।
यस्तै सुप्रिम सहकारीको पनि अनुसन्धानका लागि समेत उनलाई पोखराबाट बुटवल पुर्याइएको थियो । बुटवलमा बयानसकिएसँगै उनलाई पोखरा लगिसकिएको छ ।
उनीहरुलाई अब अनुसन्धान र बयानका लागि पोखराबाट काठमाडौँ ल्याइनेछ । रास्वपाले भने रविविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै विरोध प्रदर्शन गर्दै आएको छ ।



























































