काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । क्यानले यही नोभेम्बर ३० (मंसिर १५) गते देखि काठमाडौँमा सुरु हुने पहिलो संस्करणको एनपीएलको खेल तालिका आइतबार सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुने भएको छ । जुन खेल नोभेम्बर ३० (मंसिर १५) गते अपरान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ । १ डिसेम्बर (मंसिर १६ गते) उपनिर्वाचत हुने भएकाले उक्त दिन कुनै पनि खेल हुने छैन ।
यस्तै प्रतियोगिताको दोस्रो दिन दुई खेल हुने छन् । जस अन्तर्गत पहिलो खेलमा बिहान ९ः१५ बजे काठमाडौँ राइनोज र काठमाडौँ गुर्खाजबीच हुने छ भने दोस्रो खेल अपरान्ह १ः१५ बजे जनकपुर बोल्टस् र कर्णाली याक्सबीच हुनेछ ।
यस्तो छ प्रतियोगिताको फर्म्याट
पहिलो संस्करणको एनपीएलमा नेपालका विभिन्न प्रदेश/सहरका नाममा ८ वटा टोली एनपीएलमा भिड्दैछन् । प्रत्येक टोलीले एक अर्कासँग १–१ खेल खेल्नेछन् । प्रतियोगितामा कूल ३२ खेल हुनेछन् ।
प्रतियोगिताका प्लेअफ खेल १८ डिसेम्बर (पुस ३ गते) हुने छन् । जसअनुसार अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका टोलीबीच पहिलो प्लेअफ बिहान ९ः१५ बजे हुने छ भने तेस्रो र चौथो स्थानमा रहेका दुई टोलीबीच दोस्रो प्लेअफ १ः१५ बजे हुने छ ।
पहिलो प्लेअफको विजेता टोली फाइनलमा पुग्नेछ भने हार्ने टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पाउने छ । जस अनुसार उसले क्वालिफायर्समा दोस्रो प्लेअफको विजेता टोलीसँग खेल्नुपर्ने छ ।
प्रतियोगिताको फाइनल भने २१ डिसेम्बर (पुस ६ गते) हुने छ । प्रतियोगिताका सबै खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । एनपीएलको प्रत्यक्ष प्रसारण विश्व प्रसिद्ध खेलकुट टिभी च्यानल स्टार स्पोर्टसबाट हुनेछ ।
यस्तो छ खेल तालिका :





























































