काठमाडौँ – एनसेल नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १५ देखि काठमाडौँमा सुरु हुने सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)को प्रायोजकका रुपमा जोडिएको छ । एनपीएलका तर्फबाट क्यानका सचिव पारस खड्का र एनसेलका प्रतिनिधिले प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्राण्ड डिजिटल जलिक प्रा.लि. र क्यानको संयुक्त पहलमा उक्त सम्झौता भएको हो । सम्झौता अनुसार एनसेल सिद्धार्थ बैँक एनपीएलको ‘पावर्ड बाई’ स्पोन्सरका रुपमा रहनेछ । यसका लागि गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अवधि र रकम भने खुलाइएको छैन ।
यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको कम्पनीले जनाएको छ। “यू–१९ महिला क्रिकेट टोलीले पहिलो पटक आइसीसी महिला यू–१९ टी–२० विश्वकपका लागि छनोट भएको उल्लेखनीय उपलब्धि लगत्तै हामी नेपाल प्रिमियर लिगका लागि क्यानसँग ‘पावर्ड बाई एनसेल’ साझेदारी घोषणा गर्न पाउँदा अत्यन्त खुशी छौं ।” सम्झौताप्रति जाब्बोरले भने, “यसले नेपालको क्रिकेट खेलाडीहरूलाई उत्कृष्ट अनुभव र आफ्नो अपार प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । यो हामीमा रहेको खेलकुद क्षेत्र प्रतिको उच्च सम्मान र आकर्षणको प्रमाण हो । क्रिकेट र खेलकुदप्रतिको हाम्रो प्रतिबद्धता प्रशंसनीय छ, र हामी खेलकुदको विकास, युवा सशक्तीकरण, र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्ने अपेक्षा गर्छौ ।”
यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवर्द्धन गर्नका लागि मात्र नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि भएको एनसेलले जनाएको छ ।
साथै एनसेलले आफ्ना ग्राहककालागि लाइभ स्क्रिनिङ् मार्फत एनपीएलका खेलहरु आफू जहाँ भएपनि हेर्न सकिने सुविधा प्रदान गर्नेछ । यसका साथै एनसेलले खेल मैदानमा विभिन्न गतिविधिहरु आयोजना गर्दै यो प्रतियोगिताभरि ग्राहकहरुकालागि विभिन्न योजनाहरु पनि ल्याउने जनाएको छ । क्यानले यसअघि एनपीएलको ‘टाइटस स्पोन्सर’का रुपमा सिद्धार्थ बैँकसँग सम्झौता गरेको थियो ।
पहिलो संस्करणको एनपीएलमा विभिन्न प्रदेश र सहरको नाममा ८ वटा टोली मंसिर १५ देखि काठमाडौँमा भिड्दैछन् । प्रतियोगिताको उद्घाटन खेल मंसिर १५ गते दिउँसो १२ः१५ बजे बिराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुनेछ । फाइनल खेल भने पुस ६ गते हुनेछ ।




























































