काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।
हवाई भाडावृद्धि नियन्त्रणबारे बुधबार मन्त्रालयमा बोलाएको सरोकारवालासंगको छलफलका क्रममा मन्त्री पाण्डेले वायु सेवा कम्पनीहरुलाई उच्चतमूल्यको भाडा लिएको भन्दै त्यसबारे पूर्नविचार गर्न निर्देशन दिएका हुन् । यसअघि हवाई सेवा कम्पनीहरुले नियामक निकायसँगको छलफलमा हाडा नियन्त्रणका लागि पाँच बुँदे सहमती गरिएको भएपनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोस व्यक्त गरे ।
उनले हवाई भाडाबृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउदै उनले राज्य र नागकिरप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गरे ।
“हामीले नागरिकहरुकै सेवा भनेर हवाई कम्पनीलाई सहुलियत दिएका थियौँ । तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ”, मन्त्री पाण्डेले भने, “नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले गरेको व्यवहारले म निकै दुखी छु ।”
मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलेसमेत अचाक्ली हवाईभाडा लिएकोप्रति सचेत गराए । पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडावृद्धिबारे पुर्नविचार नगरे सरकारले कडा कदम चाल्ने चेतावनी दिए ।
मन्त्रालयका सचिव डा गणेश पाण्डेयले सम्झौताअनुसार एयरलाइन्सले अटेर गरेकोबारे प्रश्न गरे । उनले भने, “आफूले गरेको निर्णय आफैँ लागू गर्नेकी नियमन गर्न कठोर बन्नुपर्ने हो । सम्झौता किन लागू नगरेको । तपाइँहरुले यदि निर्णय कार्यान्वयनमा अटेर गर्नुभयो भने सेवा दिन आउने नयाँ हवाई कम्पनीका लागि सूचना आह्वान गर्न सकिन्छ ।”
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाईभाडा नियन्त्रण सम्बन्धी पाँच बुदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृतिम अभाव देखाउदैँ कालो बजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गरे ।
छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए । एयरलाइन्सले चार गुणा बढी भाडा लिएको भन्दै आलोचना भएपछि मन्त्री पाण्डेले पुनः सरोकारवाला निकायलाई बोलाएर नै छलफल गरेका हुन् । छलफलमा नेपालमा सेवा दिदैँ आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो ।



























































