काठमाडौँ– खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजी गर्नुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन र्याली निकालिएको छ ।
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको नेतृत्वमा खोला तथा सडक मापदण्ड गैरन्यायीक भएकाले खारेज गर्नुपर्ने भन्दै प्रदर्शन काठमाडौंको माइतिघरमा विरोध र्याली प्रदर्शन निकालिएको हो ।
त्यसअघि प्रदर्शनमा सहभागीहरुले कुपण्डोल पुलबाट माइतिघरसम्म खवरदारी रयाली समेत निकालेका थिए । प्रदर्शनमा सहभागीहरुले मापदण्डका नाममा जनतालाइ उठिबास गर्न पाइदैन, जनतालाई उठिबास गर्ने गैर न्यायीक सडक तथा खोला मापदण्ड खारेज गर, गैरन्यायीक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर, आवास र सम्पतिको संवैधानकि हकको ग्यारेन्टी गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा उपत्यका सम्पदा संरक्षण अभियान्ता सुमन सायमीले एकीकरण, अधिग्रहण, बिकास लगाएतका नाममा जनताको भूमि खोसिदै आएकाले अव कुनै प्रकारको हस्तक्षेप सैह्य नहुने बताए ।
अब आफुहरुको लडाई भूमिको रक्षाका लागि हुने उनले बताए । जनताको निजी सम्पत्ति महानगरले गैरकानूनी तवरले लुटिरहेको सयामीले आरोप समेत लगाए । उनले संविधानमा नै आवास र सम्पत्तिको हक दिएको अवस्थामा डोजर आतंक गरेर जनताको अधिकार खोस्न खोजेको धारणा राखे ।
प्रदर्शनकारीहरुले खोला तथा सडक मापदण्ड खारेजी नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।



























































