काठमाडौँ– सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १६ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारसुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको हो । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो ।
यससंगै सुनको मूल्य तोलामा एक लाख ५१ हजार ३ सय रूपैयाँ कायम भएको छ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बढाएर २० प्रतिशत पुर्याएको सुनको भन्सार दर १० प्रतिशतमा झारिएको हो । बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत पुर्याइएको थियो । तर, भारत सरकारले भन्सार दर घटाउँदा नेपालमा सुनको मूल्य महँगो र भारतमा सस्तो थियो ।
त्यस्तै, चाँदीमा लगाइएको भन्सार दर पनि घटाइएको छ । बजेटमार्फत १५ प्रतिशत पुर्याएको भन्सार दर १० प्रतिशतमा झारिएको छ । दर घटाएपछिको मूल्य समायोजन गरिएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८४५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।



























































