काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
आज बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुग्नुभएका प्रधानमन्त्री शाहले बाढी प्रभावित बस्तीको भौतिक अवस्था तथा क्षतिको अवलोकन गरेका हुन्।
निरीक्षणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट क्षतिग्रस्त सडक, पूर्वाधार तथा प्रभावित बस्तीको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग छलफल गरेको थियो।
सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
यसअघि रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाहले उद्धार, राहत तथा व्यवस्थापनका लागि उच्चस्तरीय बैठकमार्फत आवश्यक निर्देशन दिँदै आएका थिए।
स्थलगत निरीक्षण तथा आवश्यक निर्देशनपछि प्रधानमन्त्री शाहसहितको टोली आजै काठमाडौं फर्किएको छ।































































