कोशी– कोशी प्रदेश सरकारले विपद्बाट जनधनको क्षति रोक्न सशस्त्र प्रहरीलाई विपद् प्रतिकार्य सामग्री उपलब्ध गराएको छ ।
बुुधवार विराटनगरमा आयोजित एक कार्यक्रमबीच सशस्त्र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने रणनीति अनुसार करिब १७ लाख १७ हजार रुपैया बराबरको विपद् प्रतिकार्य सामग्रीहरु हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
आगलागी नियन्त्रण सामग्रीमा फायर स्वाटर, रेस्क्यु लाइफ ज्याकेट, हेलमेट, बेड म्याट्रेस, सोलार प्यानल लगायत ७ प्रकारका सामग्रीहरु रहेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्र्कीले सशस्त्र प्रहरी बल बराह बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीलाई विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा मुख्यमन्त्री कार्र्कीले विपद्बाट हुने क्षति रोक्न पूर्व तयारी कार्यक्रमलाई अगाडि सार्नुपर्ने बताए । उनले असारमा बाढी पहिरो, पौष माघमा शितलहर र फागुन चैत्रमा आगलागी नियन्त्रणको प्रयास गर्नुभन्दा त्यस अगाडि नै जोखिम न्यूनिकरणको पूर्व तयारी गर्न निर्देशन दिए ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालू आर्थिक बर्षमा विपद् न्यूनिकरण र नियन्त्रणका लागि विभिन्न सामग्री खरिद गर्न करिब ३ करोड रुपैया विनियोजन गरेको छ ।