काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन् ।
बुधबार चितवनमा आयोजित कांग्रेसका नेता एवं साविक शक्तिखोर गाउँ विकास समितिका संस्थापक अध्यक्ष स्वर्गीय बलवहादुर श्रेष्ठको १२ औं स्मृति सभामा बोल्दै मन्त्री पौडेलले अझै पनि स्वास्थ्य बीमा कार्यक्रम पूर्ण हुन नसकेकाले यसलाई थप व्यवस्थीत र प्रभावकारी बनाइने बताए ।
कडा रोग लागेका बिरामीहरुलाई १ लाखको बीमाले कुनै सुविधाको अनुभूति नहुने भएकाले पाँच लाख पुराउने गरी कार्यक्रम ल्याएको उनले जानकारी दिए । मन्त्री पौडेलले तलव खाने नेपाली नागरिकले आफ्नो तलवबाट दुई प्रतिशत बीमा कोषमा जाने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको समेत जनाए ।
राज्यले दिने करबाट शुन्य दशमलव ५ प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्थाको समेत प्रस्ताव गरेको समेत जनाउदैँ उनले स्वास्थ्य बीमामा देखिएका झुटा दावीलाई गैरकानूनी बनाउने र झुटा दावी गराउने अस्पताललाई खारेजी गर्ने गरि कानूनी व्यवस्थाको तयारी भएको धारणा राखे ।
त्यस्तै उनले बलवहादुर श्रेष्ठ जस्ता अग्रजहरुको योगदानबाट प्राप्त लोकतन्त्रको संस्थागत विकास गराउने दायित्व युवाहरुमा आएकोेमा समेत जोड दिए ।