काठमाडौँ – काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई १६८ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ब्राण्डन म्याक्मुलमले अर्धशतकीय पारी खेले त्यसक्रममा उनले ३६ बलमा ३ चौका र ४ छक्काको प्रहारमा ५४ रन बनाए । यस्तै विनोद भण्डारीले २८ बलमा २ चौका र २ छक्कासहित ३५ रन जोडे भने कप्तान दीपेन्द्र सिंह ऐरीले २५ बलमा ३ चौका र २ छक्काको मदतमा ४३ रन बनाए । ओपनर शयद जइबले ११ रनको योगदान गरे ।
बलिङतर्फ काठमाडौँ गुर्खाजका राशिद खानले २ विकेट लिए भने कप्तान करण केसी, जेरहार्ड इरास्मस र साहब आलमले समान १–१ विकेट लिए । पहिलो खेलमा पोखरालाई भारी अन्तरले हराएको सुदूरपश्चिम दोस्रो जितको हात पार्ने दाउमा रहेको छ भने पहिलो तेस्रो खेल खेलिरहेको काठमाडौँ पनि दोस्रो जितमा खोजीमा रहको छ ।



























































