काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदलाई थप प्रभावकारी बनाउन समयसापेक्ष कानुनको आवश्यकता रहेको बताएका छन् ।
संसद सेवा दिवसको अवसरमा संघीय संसद सचिवालयले आइतबार सिंहदरवारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सभामुख घिमिरेले अहिले पनि पुरानै ऐनबाट संघीय संसदको काम अघि बढिरहेको भन्दै संसदलाई थप प्रभावकारी बनाउन समयसापेक्ष कानुनको आवश्यकता रहेको बताएका हुन् ।
उनले मुलुक संघीयतामा गएकाले ऐन कानूनलाई समयसापेक्ष बनाएर अघि बढ्नुपर्ने जिकिर गरे । कार्यपालिका, व्यवस्थापिकाबीचको सम्बन्ध राम्रो नहुँदा संसद प्रभावकारी हुन नसकेकाले त्यसमा ध्यान दिनुपर्ने उनले बताए ।
सभामुख घिमिरेले कार्यपालिकाले व्यवस्थापिकालाई छल्न खोज्ने र व्यवस्थापिका कार्यपालिकाको खिलापमा जान खोज्दा संसदलाई प्रभावकारी बनाउन समस्या भएको हुन सक्ने धारणा राखे ।
त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जनअपेक्षालाई पुरा गर्नका लागि संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । मुलुकमा सुशासन कायम गर्नका लागि बहस हुन जरुरी रहेको र त्यसमा सांसदहरु गम्भीर हुनुपर्ने उनले बताए ।
कार्यक्रममा संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले संघीय संसदको प्रभावकारितामा संसद सेवाको भूमिका बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।



























































