काठमाडौँ – काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदुरपश्चिम रोयल्सले पहिलो हार व्यहोरेको छ । आइतबार चितवन राइनोजले सुदूरपश्चिमलाई ३३ रनले पराजित गरेको हो । यससँगै चितवनले प्रतियोगितामा तेस्रो जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको हो । जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम १८.२ ओभरमा १३१ रनमै अलआउट भएको हो ।
सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए । उनले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै सायब जैबले १८, स्कट कुग्गेलिजनले १६, ब्राण्डन म्याक्मुलनले १३ तथा दिलप्रित बजवाले १२ रनको योगदान दिए पनि टालीको जितका लागि प्रयाप्त भएन ।
चितवनलाई तेस्रो जित दिलाउने क्रममा रिजन ढकाल, कुशल मल्ल, अमर रौटेला र निकोल जान लफ्टी इटनले समान २–२ विकेट हात पारे । यस्तै सोहेल तानविर र रञ्जित कुमारका नाममा १–१ विकेट रह्यो ।
यसअघि चितवनका लागि हसन इसाखिलले सर्वाधिक ६५ रन बनाए । उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै रवि भोपराले १८ बलमा २ चौका र २ छक्कासहित ३६ रन हाने भने विपीन रावल १७ तथा कप्तान कुशल मल्ल १३ रनमा आउट भए ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजनले २ विकेट लिए भने ब्राण्डन म्याक्मुलन, कप्तान दीपेन्द्रसिंह ऐरी र सायब जैबले समान १–१ विकेट हात पारे ।



























































