काठमाडौं – हिमालयन बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा १ हजार ४१ प्रतिशतले बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको हो।


ADVERTISEMENT


अघिल्लो आर्थिक वर्ष बैंकले १२ करोड ९७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। गत वर्ष बैंकको नाफा बढ्नुमा व्यवसाय विस्तारभन्दा पनि प्रोभिजनिङमा आएको कमी प्रमुख कारण देखिएको छ। बैंकले अघिल्लो वर्ष ३ अर्ब ७५ करोड रुपैयाँ प्रोभिजनिङ गरेकोमा गत वर्ष २ अर्ब ८९ करोड रुपैयाँमा झारेको छ।


ADVERTISEMENT

# # #


नाफा बढे पनि बैंकको मुख्य आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानी भने घटेको छ। खुद ब्याज आम्दानी १५.७३ प्रतिशतले घटेर ८ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ।

बैंकले गत वर्ष १ अर्ब ६ करोड रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ भने कुल सञ्चालन आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ।

यता बैंकको वितरणयोग्य नाफा भने ९ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक रहेको छ। यसले खुद नाफा बढे पनि तत्काल लाभांश वितरण गर्न सक्ने अवस्था कमजोर रहेको देखाउँछ।

बैंकको निक्षेप संकलन १३.७२ प्रतिशतले बढेर ३ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। तर कर्जा लगानी १.२३ प्रतिशतले घटेर २ खर्ब २७ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ।

बैंकको प्रतिसेयर आम्दानी ०.६० रुपैयाँबाट बढेर ६.५६ रुपैयाँ पुगेको छ। खराब कर्जा अनुपात भने सामान्य घट्दै ७.९६ प्रतिशत कायम भएको छ।